
मकवानपुर । जेन्जी आन्दोलनका क्रममा भिमफेदी कारागार तथा बालसुधार गृह हेटौँडाबाट फरार भएका तीन जना कैदी–बन्दीलाई प्रहरीले पक्राउ गरेको छ।
गत भदौ २३ र २४ गते भएको आन्दोलनका बेला भिमफेदी कारागारबाट फरार भएका दुई जना कैदी र बालसुधार गृह हेटौँडाबाट फरार भएका एक जना बालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले खोजतलासका क्रममा शनिबार र आइतबार नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा जबर्जस्ती करणी मुद्दाका बागमती गाउँपालिका–६ कैलेडाँडाका ३० वर्षीय मुन्ना स्याङ्तान र लागूऔषध ट्रामाडोल मुद्दाका हेटौँडा उपमहानगरपालिका–७ हरियालीका २२ वर्षीय विशाल गोले रहेका छन्। त्यसैगरी, बालसुधार गृह हेटौँडाबाट फरार भएका लागूऔषध ब्राउन सुगर मुद्दाका एक जना बालकलाई पनि प्रहरीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका सबैलाई आवश्यक प्रक्रिया पूरा गरी भिमफेदी कारागार तथा बालसुधार गृह हेटौँडामा बुझाइएको जिल्ला प्रहरीले जनाएको छ ।