
हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित रिभरसाइड क्षेत्रका स्थानीय बासिन्दाले ऋद्धिसिद्धि सिमेन्ट उद्योगको खानी सञ्चालन तथा खानीसम्म पुग्ने सडक निर्माणका क्रममा खोलामा भइरहेको गतिविधिबारे छानबिन गर्न माग गरेका छन् ।
मंगलबार स्थानीय वीरेन्द्र डिसीको नेतृत्वमा गएको सरोकारवालाको टोलीले बागमती प्रदेशकी कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री रमा आलेमगरलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै खोलाको प्राकृतिक अवस्था र स्थानीय बस्तीको सुरक्षालाई ध्यानमा राखेर निर्माण कार्यको अनुगमन तथा छानबिन गर्न माग गरेको हो ।
स्थानीयका अनुसार खानीसम्म पुग्ने सडक निर्माणका क्रममा खोलाको किनार तथा खोलाभित्रै एक्स्काभेटरलगायतका भारी मेसिनरी प्रयोग गरी निर्माण कार्य भइरहेको छ । यसले खोलाको प्राकृतिक स्वरूप र बहावमा असर पुर्याउन सक्ने भन्दै उनीहरूले वर्षायाममा बाढी, कटान तथा डुबानको जोखिम बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।
ज्ञापनपत्रमार्फत निर्माण कार्यका लागि आवश्यक सरकारी स्वीकृति लिइएको छ वा छैन तथा वातावरणीय अध्ययनसम्बन्धी कानुनी प्रक्रिया पूरा गरिएको छ वा छैन भन्ने विषयमा छानबिन गर्न स्थानीयले माग गरेका छन् । साथै, सम्बन्धित प्राविधिक निकायबाट स्थलगत अनुगमन तथा अध्ययन गरी स्थानीय बस्ती, घरजग्गा र खेतीयोग्य जमिनको सुरक्षाका लागि आवश्यक उपाय अवलम्बन गर्न आग्रह गरेका छन् ।
स्थानीयले आफूहरू उद्योग सञ्चालन तथा विकास निर्माणको विरोधी नभएको स्पष्ट पार्दै विकासका नाममा स्थानीयको जनधन, प्राकृतिक सम्पदा र वातावरण जोखिममा पर्न नहुने बताएका छन् ।
छानबिन तथा प्राविधिक अध्ययनको निष्कर्ष नआएसम्म जोखिमपूर्ण देखिएका गतिविधि आवश्यकताअनुसार रोक्न वा नियन्त्रण गर्न, कानुनविपरीत कार्य भएको पाइएमा सम्बन्धित पक्षलाई कारबाही गर्न तथा स्थानीयका गुनासालाई गम्भीरतापूर्वक सम्बोधन गर्न उनीहरूले सरकारसँग माग गरेका छन् ।