
हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर–१ का नेकपा एमालेका उम्मेदवार रामेश्वर रानाले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् ।
निर्वाचन आयोगमा पेश गरिएको विवरण अनुसार रानाले निर्वाचन प्रचार–प्रसार तथा अन्य गतिविधिमा कुल १५ लाख ८८ हजार ४६५ रुपैयाँ खर्च गरेको उल्लेख गरिएको छ ।
सार्वजनिक गरिएको विवरणमा मतदाता नामावली छपाइ तथा प्रिन्ट लगाएत प्रचारप्रसारका लागि ६ लाख १० हजार ७६५ रुपैयाँ खर्च गरिएको जनाइएको छ । त्यसैगरी सवारी साधनतर्फ १७ दिनको अवधिमा १ लाख ८७ हजार रुपैयाँ खर्च भएको छ ।
त्यस्तै झण्डा, ब्यानर लगाएत प्रचार–प्रसार सामग्री उत्पादन तथा वितरणमा २ लाख ९० हजार ७सय रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ । गोष्ठी, अन्तरक्रिया तथा कार्यकर्ता परिचालनका लागि ३ लाख रुपैयाँ र प्रतिनिधि एवं स्वयंसेवक परिचालन तर्फ २ लाख रुपैयाँ खर्च भएको पनि आयोगमा बुझाइएको विवरणमा जनाइएको छ ।

निर्वाचन ऐन २०७४ तथा निर्वाचन आयोगले स्वीकृत गरेको आचारसंहिताअनुसार उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि आफ्नो चुनावी खर्च विवरण आयोगमा बुझाउनुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार रानाले आफ्नो खर्च विवरण निर्वाचन आयोगमा पेश गरेका हुन् ।