
मकवानपुर । स्थानीय बजारमा सुकेको प्याजको भाउमा गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले प्याजको भाउमा गिरावट आएको देखाएको हो ।
एक साता अवधिमा प्याजको भाउ थोकमा प्रतिकिलो ३ देखि ४ रुपैयाँ घटेको छ । १० माघमा प्याज प्रतिकिलो न्यूनतम ४२ देखि अधिकतम ४३ र औसत ४२ रुपैयाँमा किनबेच भएको थियो ।
आज आइतबार भने प्याज प्रतिकिलो थोकमा न्यूनतम ३८ देखि अधिकतम ४० र औसत ३९ रुपैयाँमा किनबेच भइरहेको छ ।
पुस अन्तिम साता प्याज प्रतिकिलो न्यूनतम ५० देखि अधिकतम ५२ र औसत ५१ रुपैयाँमा किनबेच भएको थियो । मंसिर अन्तिम साता सुकेको प्याज न्यूनतम ३८ देखि अधिकतम ४५ र औसत ४२ रुपैयाँमा किनबेच भएको थियो ।
अहिले कालीमाटी बजारमा भारतबाट मात्रै सुकेको प्याज आइरहेको छ । भारतीय बजारमा प्याजको भाउ घटबढ हुँदा नेपाली बजारमा पनि भाउ घटबढ हुने व्यवसायीहरू बताउँछन् ।