
हेटौंडा । नेकपा एमालेको काठमाडौंमा पुस ३ मा सम्पन्न ११औं महाधिवेशनमा केन्द्रीय कमिटीमा मकवानपुरबाट एकालाल श्रेष्ठको इन्ट्री भएको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीको तेस्रो कार्यकालमा मकवानपुरका एकालालको पहिलो इन्ट्री भएको हो । समावेशी आदिवासी जनजाती क्लस्टरबाट केन्द्रीय सदस्यमा एकालाल श्रेष्ठ(१५०९ मत) निर्वाचित भए ।
नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य, बागमती प्रदेशको एमाले संसदीय दलको प्रमुख सचेतक समेत रहेका छन् । मकवानपुर निर्वाचन क्षेत्र १(२) बाट निर्वाचित श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्रालय र उर्जा,खानेपानी तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी समेत कुशल रुपमा निर्वाह गरिसकेका छन् ।
को हुन् एकालाल श्रेष्ठ ?
२०४४ सालदेखि विधिवत रुपमा कम्युनिस्ट राजनीतिमा प्रवेश गरेका एकालाल श्रेष्ठ मकवानपुर अझ भनौं हेटौंडाबासीका लागि कुनै नौलो नाम हैन । २०२७ साल साउन १७ गते जन्मिएका एकालाल पूर्णलालिन राजनीति र समाजसेवामा समर्पित नाम हो । बुवा भिमलाल श्रेष्ठ र आमा चन्द्रकुमारी श्रेष्ठको जेठा छोराका रुपमा जन्मिएका श्रेष्ठले हेटौंडाको शिद्धार्थ माविमा कक्षा ८ मा पढ्दै गर्दा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको सदस्यता लिएर २०४४ सालबाट राजनीतिमा पाइला राखे ।
पञ्चायत कालमा राजनीति गर्न पक्कै पनि सहज थिएन तर पनि त्यो चुनौतीपूर्ण अवस्थाको सामना गर्दै उनी निरन्तर राजनीतिमा सकृय रहे । २०४५ सालमा अनेरास्ववियु जिल्ला कमिटी सदस्य क्रमशः सचिव, उपाध्यक्ष हुँदै २०५२ सालमा अनेरास्ववियुको जिल्ला कमिटी अध्यक्ष बन्न सफल भए ।जिल्ला अध्यक्षको जिम्मेवारी पाउनु पनि निरन्तर विद्यार्थी राजनीतिमा उर्जाशिल भएर लागेको प्रतिफल नै थियो ।हेटौंडामा नै जन्मिएका एकालालले पछिल्लो समयमा देशमा भैरहेको धेरै राजनीतिक उथलपुथल नजिकबाट नियाल्ने अवसर पनि पाए ।
राजनितीलाई व्यवसाय हैन सेवा बनाउनुपर्छ भावना उनीमा विद्यार्थीकालदेखि नै जागृत थियो भने अहिले पनि ‘बरकरार’ छ । निरंकुश निर्दलीय राजतन्त्र विरुद्धमा २०४६ सालमा भएको आन्दोलनमा पनि उनी सक्रीय भएर लागे उनले हेटौंडामा हुने हरेक आन्दोलनमा अग्रपंक्तिमा रहेर जुधिरहे । विद्यार्थीको नेतृत्व गर्दै आन्दोलनमा लागिरहँदा उनले जेलजीवनको पनि सामना गर्नुपरेको थियो ।
यी यावत कुराहरु सम्झिदा जहिले पनि देश जोगाउनको लागि हरेक कुराको सामना गर्न सक्नुपर्छ भन्ने उर्जा प्राप्त हुने उनी बताउँछन् । अनेरास्ववियुको मकवानपुरको अध्यक्ष हुँदैगर्दा दुई कार्यकाल केन्द्रीय सदस्य, सचिवालय सदस्य समेत हुने मौका पाए । केन्द्रीय सचिवालय सदस्य भएपछि केन्द्रीय राजनीतिमा पनि उनको सम्पर्क बढ्दै गयो । त्यसो त त्यसबेला विद्यार्थी राजनीति सँगै गरेका ठाकुर गैरे, भानुभक्त ढकाल, शेरधन राई, विशाल भट्टराई, खिमलाल भट्टराई, योगेश भट्टराईहरु लगायतका नेताहरू केन्द्रिय तहामा नै छन् ।
विभिन्न आरोह अवरोहलाई छिचोल्दै एकालाल नेकपा एमाले मकवानपुर जिल्ला कमिटी अध्यक्ष हुँदै बागमती प्रदेश कमिटीको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । तत्कालीन समयमा अनेरास्ववियूको मध्यमाञ्चल प्रमुख समेत भएर काम गरेका २०४८ सालमा एमालेको पार्टी सङ्गठित सदस्यता प्राप्त गरी नेकपा एमालेको राजनीतिमा पाइला टेकेका हुन् । २०४९ सालमा तत्कालीन हेटौंडा नगरपालिका वडा नम्बर १ को नेकपा एमाले पार्टी कमिटीको पहिलो अध्यक्ष हुने सौभाग्य पनि उनकै नाममा छ । २०५० सालमा हेटौंडा नगर कमिटीको सदस्य हुदै विभिन्न जिम्मेवारी पश्चात् २०६१ सालमा आएर एमाले मकवानपुरको जिल्ला कमिटी सदस्य हुन सफल भए । पार्टी राजनीतिमा धैर्य र संयमता अपनाए अवसर आउँछ भन्ने उनको मनमा लागिरह्यो ।
२०६२/०६३ को मकवानपुरको आन्दोलनमा सक्रीय रुपमा सहभागि हुँदै गर्दा उनले ठाउँठाउँको आन्दोलनको नेतृत्व गरेका थिए । त्यसरी आन्दोलनको अगुवाइ गर्दा पटक–पटक सरकारले दमन गरी पक्राउ समेत गरेको थियो ।निरन्तर नेकपा एमालेकै विभिन्न क्षेत्रमा सक्रीय एकालाल २०७२ सालमा नेकपा एमाले मकवानपुरको सचिव भए ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेकपा बनेपछि भएका विभिन्न घटनाक्रमलाई नजिकबाट अवलोकन गरेका एकालाल पार्टीलाई सङ्कट परेको अवस्थामा नेतृत्व लिएर २०७७ साल पुस २५ गते पार्टीको अध्यक्ष बने । त्यसको एकवर्षपछि पुन २०७८ साल पुस २५ गते भएको नेकपा एमालेको जिल्ला अधिवेशनबाट एमाले मकवानपुरको अध्यक्षका रुपमा निर्वाचित भएका थिए ।
२०७९ मा बागमती प्रदेशसभामा मकवानपुर–१ (२) बाट निर्वाचित भएका हुन्। निर्वाचनमा उनले प्रतिद्वन्द्वी (नेपाली कांग्रेस) लाई करिब ८७१ मतले पराजित गर्दै जित हासिल गरेका थिए।
नेपालका बुद्धिचाल खेलका सन्दर्भमा नेपालका धेरै जिल्लाका साथै विभिन्न देशहरुमा समेत उनले नेपालको प्रतिनिधित्व गराउन सफल भएका छन् । यस्तै नेपाल बुद्धीचाल संघको केन्द्रिय कमिटीको विभिन्न जिम्मेवारी पूरा गर्दै अनुभव बटुल्दै महासचिब हुँदै २०७२ चैत्र १३ गते केन्द्रीय अध्यक्षका रुपमा चयन भए । बुद्धिचाल खेलमा राम्रो अनुभव रहेका एकालालले नेपालमा पनि यो खेलको राम्रो आकर्षक छ भन्ने विदेशमा चिनाउने काम गरे । एसियायी चेस महासङ्घको अध्यक्षको सल्लाहकार ( २०१८ देखि हालसम्म), विश्व बुद्धिचाल महासङ्घको बिकास आयोगको सदस्य (सन् २०१५-२०१८ सम्म) काम गरेर अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा पनि आफ्नो अनुभव सङ्गालेका छन् ।
निर्माण ब्यवसायी महासङ्घ मकवानपुरको दुई कार्याकाल महासचिव, मकवानपुर उद्योग वाणिज्य सङ्घको सल्लाहकार भैसकेका छन् एकालाल । यस्तै मकवानपुरको पुस्तकालय स्थापना एबम सामुदायिक बनहरुको अभियानमा समेत उनी जोडीएका छन् । यस्तै राजनीतिक अभियान सँगै सहकारी अभियानमा पनि उनी जोडिएका छन् ।