
मकवानपुर । नेकपा एमाले मकवानपुरले आज हेटौँडामा आयोजना गरेको बृहत् मोटरसाइकल र्याली तथा जनसभामा जिल्लाका करिब १० हजार कार्यकर्ता र २५ सयभन्दा बढी स्कुटर तथा बाइक सहभागी भएको जनाएको छ।
यस्तै कार्यक्रमकै सन्दर्भलाई लक्षित गर्दै सामाजिक सञ्जालमा आज दिउँसोदेखि एउटा हस्तलिखित कागज (पर्चा) पेट्रोल कुपनजस्तै देखिने फोटो तीव्रगतिमा फैलिएको छ। कागजमा ‘नेपाल कम्युनिस्ट पार्टी(एमाले) हेटौंडा-१८ वडा कमिटी’ लेखिएको छाप लगाईएको, ‘अध्यक्ष’ भनेर हस्ताक्षरझैँ गरिएको र “२०८३/०७/२९” जस्ता अंक लेखिएको देखिन्छ। यसले र्यालीका सहभागीहरूलाई पेट्रोल वितरण गरिएको भन्ने अफवाह फैलाउने प्रयास गरिएको छ।

तर एमाले मकवानपुरका नेताहरूले उक्त कागजलाई पूर्णतया फेक र भ्रम सिर्जना गर्ने उद्देश्यले बनाइएको दाबी गरेका छन्। एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामाले पार्टीले कुनै पनि प्रकारको इन्धन कुपन, सुविधा वा आकर्षण वितरण नगरी कार्यक्रम आयोजना गरेको बताए । यस्तै उक्त कुपनमा लगाइएको एमालेको ‘छाप’ पनि सहि नभएको उनले बताए । लामाले भने-‘ त्यो छाप पनि सहि होइन, पार्टीको छाप परिवर्तन भएको छ । ३ बर्ष अघिको छापको दुरुपयोग गरेर सामाजिक संजालमा भ्रम फैलाउने कोशिश भएको छ । हामी यसको छानबिन गर्छौं ।’

मकवानपुरको पुर्वी क्षेत्रको नेतृत्व सम्हालेका नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवं हेटौंडा उपमहानगरपालिका-१८ का जननिर्वाचित वडा अध्यक्ष अनिल बानियाँले सामाजिक संजालमा फैलिएको उक्त पर्चा आफुहरुले वितरण नगरेको स्पष्ट पारेका छन् । उनले भने-`हामीले कुनै प्रकारका कुपन वितरण गरेका छैनौं, हाम्रा कार्यकर्ता स्वस्फूर्त रुपमा कार्यक्रममा सहभागी भएका हुन्,एमालेलाई बद्नाम गराउन विपरीत पार्टीका केही व्यक्तिले अफवाह फैलाएका हुन् । यसमा सत्यता छैन । उनले थप्दै भने-´एमालेको शक्ति देखि डराएका समुहले यस्तो हर्कत गरेका हुन् । यदि कुपनको भ्रम छर्नेले सोही कुपनबाट तेल भरेको फोटो/भिडियो सार्वजनिक गरोस्, चुनौती दिन्छु ।`
स्थानीय स्तरमा पनि उक्त फोटोको सत्यता नपुगेपछि धेरैले यसलाई मनगढन्ते सामग्री भनेर खारेज गरेका छन्। सामाजिक सञ्जालमा पटक–पटक त्यस्ता भ्रामक सामग्री फैलिँदै आएकाले, विभिन्न प्रयोगकर्ताहरूले सचेत रहन पनि आग्रह गरेका छन्।
पछिल्लो समय राजनीतिक गतिविधिलाई बदनाम गर्ने उद्देश्यले फेक कुपन, फर्जी सूचना र भ्रमपूर्ण पोस्टहरू भाइरल बनाउने प्रवृत्ति बढ्दै गएको छ। सूचना–प्रविधिको तीव्र प्रयोगबीच सार्वजनिक रूपमा देखा पर्ने यस्ता भ्रामक सामग्रीको पहिचान र तथ्य–जाँच पाठकले पनि गर्नुपर्दछ ।