Alag Dhar

दैनिक छाक टार्न राप्ती बगरमै सङ्घर्ष

मकवानपुर ।  हेटौँडा उपमहानगरपालिका–१३, वनस्पतिकी ५५ वर्षीय लक्ष्मीमाया भ्लोनलाई सधैँ दैनिक छाक टार्ने चिन्ताले सताइरहन्छ । २०५० सालमा पूर्वी मकवानपुरको बागमती गाउँपालिका राइगाउँमा आएको बाढीले खेतबारी बगरमा परिणत भएपछि उहाँ सुकुम्वासी बस्तीमा बस्न बाध्य हुनु भयो । विस्थापित भएर हेटौँडा आएको ३० वर्ष बितिसक्दा पनि उहाँको जीवन सङ्घर्ष उस्तै छ ।

भ्लोन र उहाँका श्रीमान् मिलेर दैनिक ज्यालादारी गर्दै परिवार पाल्दै आउनु भएको थियो । “एलानी दस कट्ठा जग्गा थियो, त्यही खेतीपाती गरेर परिवारको गुजारा राम्रो चलिरहेको थियो,” विगत सम्झँदै उहाँले भन्नु भयो, “बाढीले सबै बगायो, अहिले ज्याला मजदुरी गरेरै परिवार पाल्दै आएको छु ।”

उहाँको दैनिकी बिहान सात बजे राप्ती नदीको बगरबाट सुरु हुन्छ । दिनभर बालुवा चालेर एक टिप पुर्‍याउन चारदेखि पाँच दिन लाग्ने उहाँ बताउनु हुन्छ । “एक टिप बालुवाबाट १५ सय रुपियाँ आउँछ, त्यसैको आम्दानीले जसोतसो अन्नको जोहो हुन्छ,” भावुक स्वरमा उहाँले भन्नु भयो ।

श्रीमान् सुगर रोगबाट पीडित भएकाले घरखर्चको मुख्य भार उहाँकै काँधमा छ । “ज्यान चलेसम्म कमाएर खानु पर्‍यो,” भ्लोनले भन्नु भयो, “हामीजस्ता मजदुरलाई जीवन बाँच्न गाह्रो छ ।” बालुवा चाल्नुका साथै भ्लोन धान रोप्ने, काट्ने लगायतका कृषि काममा पनि ज्यालादारी गर्न जाने गर्नु हुन्छ । स्थायी रोजगारी र आयको स्रोत नहुँदा उहाँको परिवार आज पनि दैनिक मजदुरीमै निर्भर छ ।

त्यस्तै हेटौँडा–११, सिमलटारकी ४८ वर्षीय सिर्जना घलान पनि मजदुरी गरेरै परिवार पाल्दै आउनु भएको छ । श्रीमान् रोगी भएकाले दैनिक औषधी खुवाउनु पर्ने बाध्यताका कारण घरको काम भ्याएर फुर्सद हुने बित्तिकै उहाँ बगरमा पुग्नु हुन्छ । “बालुवा कोट्याउने, थुपार्ने र चालेर आएको मजदुरीबाट परिवार चलाइरहेकी छु,” उहाँले भन्नु भयो ।

बगरमा बालुवा चालेर जीविकोपार्जन गर्न सजिलो नभएको मजदुरहरूको गुनासो छ । कहिले प्रहरी, कहिले साहु–ठेकेदारको डर सहनु परेको उहाँहरू बताउनु हुन्छ । “साँझ–बिहान नभनी काम गर्नु पर्छ । कहिले प्रहरी आएर थर्काउँछ, कहिले साहु कराउन आइपुग्छ,” घलानले गुनासो गर्नु भयो ।

मजदुरहरू बिरामी पर्दा सरसापट गरेर समस्या टार्ने गरेका छन् । वर्षायाम बाहेक अन्य समयमा खोलामा बालुवा चाल्ने श्रमिकहरू आवश्यक परे अन्य मजदुरीमा पनि लाग्ने गर्छन् । उनीहरू जस्तै यहाँका सयौँ श्रमिक दैनिक ज्यालादारीमै निर्भर रहँदै जीविकोपार्जन गर्दै आएका छन् । पछिल्लो सयम क्रसरहरू खुल्दै जादा मजदुरहरूको रोजगारी समेत गुम्दै गएको छ । ठुला मेसिन र टिप्परको प्रयोगले बालुवा चाल्ने, गिट्टी कुट्ने, ढुङ्गा छुट्याउने मजदुरको रोजगारी गुमेकोमा श्रमिकहरू गुनासो गर्नु हुन्छ ।

उहाँको जस्तै पीडा हेटौँडा उपमहानगरपालिका–१३, वनस्पति निवासी ५७ वर्षीय मेन्दोमाया ब्लोनको पनि छ । उहाँ तीन दिन लगाएर एक टिप बालुवा जम्मा गर्नु हुन्छ । एक दशकदेखि खोला किनारमा बालुवा चालेर जीविका चलाउँदै आउनु भएका ब्लोनले यही आम्दानीबाट परिवारको खर्च टार्दै आउनु भएको छ ।

“ज्यामी काममा जान इट्टा, सिमेन्ट बोक्न सक्दिनँ,” ब्लोनले भन्नु भयो, “उमेर ढल्किँदै जाँदा अब यही खोलामा बालुवा चालेर जीविकोपार्जन गर्नुको विकल्प छैन ।” खेतीपाती र स्थायी रोजगारी नहुँदा उहाँहरू मजदुरीमै निर्भर हुन बाध्य हुनु परेको बताउनु हुन्छ । “खेती छैन, जागिर गर्ने कोही छैन । दैनिक ज्यालादारी गरेरै रासनपानी चलेको छ,” मजदुरहरू बताउँछन् ।

त्यस्तै, हेटौँडा उपमहानगरपालिका–११, सिमलटारका तिलकबहादुर वलको दैनिकी खोला किनारमै बित्ने गरेको छ । विगत १३ वर्षदेखि राप्ती नदी किनाराको बालुवानै उहाँको जीविकाको आधार बनेको छ । बिहान उज्यालो भएदेखि साँझ अँध्यारो नहुँदासम्म उहाँ बगरमै बालुवा चालिरहनु हुन्छ ।

पुसको चिसोमा पनि एकसरो कपडाको भरमा बालुवा चाल्ने जाली र एउटा सावेल बोकेर राप्ती नदी किनारामा पुग्नु उहाँको दैनिकी हो । “दिनभर चालेको बालुवाबाट आएको पैसाले साँझ–बिहानको छाक टारिन्छ,” वलले भन्नुभयो । ४८ वर्षीय वलले बालुवा चालेर भएको आम्दानीबाट सात जनाको परिवार पाल्दै आउनु भएको छ । उहाँको काममा कहिलेकाहीँ छोराले सहयोग गर्ने गरेका छन् । “एउटा छोरा बिरामी छ, अर्को छोराले ट्याक्टर चलाउँछ । मजदुरी गरेरै परिवारको लालनपालन गरिरहेको छु,” उहाँले बताउनु भयो । दिनभरको मजदुरीबाट उहाँले करिब सात सय रुपैयाँ आम्दानी गर्ने गर्नु हुन्छ ।

“बाध्यताले यही खोलामा आउनु पर्छ । बगरमा बालुवा चाल्ने रहर कसैलाई हुँदैन,” वलले भन्नु भयो, “शरीरमा शक्ति हुँदासम्म यही ढुङ्गा पल्टाउने, बालुवा चाल्ने हो । मजदुरको पीडा कसले सुनिदिन्छ र रु” प्रायः गरेर हेटौँडामा रहेको सुकुम्वासी बस्तीका मानिसहरु दैनिक ज्यालादारी र अनौपचारिक क्षेत्रको श्रममा जोडिनु भएको छ । न्यून आय, शिक्षाको कमि र आर्थिक अवस्था कमजोर रहेका यहाँका समुदाय गिट्टी कुट्ने, बालुवा चाल्ने, ट्याक्टर, ट्रिपर चलाउने पेसामा आबद्ध हुनु भएको हो ।

श्रम शक्ति सर्वेक्षण–२०१७ का अनुसार आन्तरिक श्रम बजारमा ७० लाख ८६ हजार कार्यरत छन् । जसमध्ये ४४ लाख ४६ हजार पुरुष छन् भने २६ लाख ४० लाख जना महिला छन् । औपचारिक क्षेत्रमा २६ लाख ७५ हजार जना मात्रै कार्यरत छन् । ठुलो हिस्सा ४४ लाख ११ हजार जना (६२.२ प्रतिशत) अनौपचारिक क्षेत्रमा कार्यरत छन् । जसमध्ये कृषि क्षेत्रमा १४ लाख ३४ हजारले रोजगारी पाएका छन् भने गैरकृषिमा २९ लाख चार हजार कार्यरत छन् ।

घरेलु श्रममा भने ७३ हजार जना कार्यरत छन् । पाँच जनामध्ये एक जना कृषि क्षेत्रमा रोजगारी गर्छन् । सबैभन्दा बढी रोजगार दिने क्षेत्र कृषि हो । दोस्रोमा व्यापार क्षेत्र (१७.५ प्रतिशत) पर्छ । त्यसपछि निर्माण क्षेत्र (१३.८ प्रतिशत) छ । सेवा र बिक्रेताको पेसामा २३.८ प्रतिशत श्रमिक आबद्ध हुनु हुन्छ  । उहाँहरू सातामा ४४ घण्टादेखि ५५ घण्टासम्म काम गर्नु हुन्छ । उहाँहरूले सरदर १७ हजार आठ सय नौ रुपियाँ आम्दानी गर्ने श्रम सर्वेक्षणले देखाएको छ ।

अनौपचारिक क्षेत्रमा काम गरिरहेका श्रमिकहरूका समस्या औपचारिक क्षेत्रमा भन्दा भिन्नै प्रकृतिका छन् । अधिकार, ज्याला–तलब, सामाजिक सुरक्षा र अन्य सुविधा सबै कोणबाट उहाँहरू बढी पीडित हुनुहुन्छ । नेपालको जनसङ्ख्याको झण्डै आधा भाग मानिसहरू श्रम गर्न सक्ने मजदुर मानिएको छ । जसमा अधिकांश मजदुर असङ्गठित क्षेत्रमा काम गर्नु हुन्छ । जसमध्ये ठुलो सङ्ख्यामा कृषि, निर्माण तथा यातायात क्षेत्रमा काम गर्नु हुन्छ । आफ्नो श्रमको ज्याला कति हुन्छ, कति पाउनु पर्ने हो, मजदुरको अधिकार के हो भन्ने पनि थाहा पाएका हुँदैनन् । उहाँहरु आर्थिक रूपमा कमजोर हुनु हुन्छ । उहाँहरूले सधैं काम नपाइएला, बेरोजगार होइएला, परिवारका लागि एक छाक टार्न र एक जोर लुगा जोड्न नसकिएला भन्ने चिन्ता बोकिरहेका हुन्छन् ।

मुख्य समाचार

हावाहुरीको पूर्वानुमान, सतर्क रहन अपिल

हावाहुरीको पूर्वानुमान, सतर्क रहन अपिल

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज साँझ सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने ...
वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्ज । वीरगञ्जको मुख्य सडकका रूपमा रहेको त्रिभुवन राजपथ विस्तार कार्यलाई व्यवस्थित बनाउन आजदेखि सडकको केन्द्रविन्दु निर्धारण ...
स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या खानेपानी मन्त्रालयले मातहत संरचनाहरूमा दुरुपयोग गरिएका सवारी साधन मन्त्रालय तान्न थालेको छ ...
आज सुनचाँदीको भाउ घट्यो

आज सुनचाँदीको भाउ घट्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेको हो । हिजो तोलामा ३ लाख ५०० रुपैयाँमा का...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.