
मकवानपुर । नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेद्वार रामेश्वर रानाले आफ्नो उम्मेद्वारीले मकवानपुरे जनता खुसी रहेको पाईएको बताउनु भएको छ । नेकपा एमालेको तर्फबाट निर्वाचित वर्तमान र पूर्व जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्दै रानाले मुलुकलाई संकटबाट पार लगाउन र विकास र समृद्विको बाटोमा मुलुकलाई अगाडि नेकपा एमालेको जीतको विकल्प नभएको उहाँको भनाई रहेको थियो । विचलित र अन्यौलमा नपरि निर्धक्क भएर निर्वाचनमा जुट्न उम्मेद्वार रानाले आग्रह गर्नुभयो ।
भेलामा संविधानसभा सदस्य अनन्त पौडेलले फागुन २१ गतेको निर्वाचन राष्ट्रियता विरोधी र राष्ट्रिय स्वाभिमान बीचको भएकोले राष्ट्रिय स्वाभिमान रक्षाको लागि नेकपा एमालेलाई जिताउन सबै एकजुट हुनपर्ने बताउनु भयो । अब बन्ने संसदले मुलुकलाई निकास दिन सकेन भने संविधान र लोकतन्त्र मात्र संकट पर्दैन राष्ट्रियता नै संकटमा पर्ने उहाँले बताउनुभयो ।
नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले बैधानिक रूपमा नै निर्वाचन जितेर बहुमतसहित सरकार चलाउन पर्ने बताउनु भयो । मकवानपुरमा एमालेको विगतको साखलाई कायम गर्दै निर्वाचनको तयारीमा जुट्नुपर्ने बताउनु भयो ।
भेलामा नेकपा एमाले केन्द्रीय लेखा आयोगको सदस्य तथा हेटौँडा उपमहनगरपालिका दलका नेता नवीन सिग्देलको अध्यक्षतामा भएको भेलामा पूर्व संसद कृष्णप्रसाद दाहाल, प्रदेश कमिटीका सदस्यहरू फुर्वादोर्जे घिसिङ्ग, गणेशकुमारी श्रेष्ठल, नगर कमिटी अध्यक्ष बोलबहादुर कार्कीलगायतको उपस्थिति रहेको नेकपा एमाले जिल्ला उपसचिव तथा दलका सचिव फूर्वादोर्जे लामाले जानकारी दिनुभयो ।