
झापा । सातौँ संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा भएको उद्घाटन खेलमा आयोजक झापा-११ फुटबल क्लबले नेपाल पुलिस क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
घरेलु दर्शकको उल्लेख्य साथ पाएको झापा–११ ले सुरुआतदेखि उत्कृष्ट खेल प्रस्तुत गरेको थियो । प्रतिस्पर्धात्मक खेलमा पुलिस क्लबले खेलको सुरुवातमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो गोल गरेको थियो । तर, त्यसयता झापा-११ ले दुई गोल गर्दै जित सुनिश्चित गर्यो ।
‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप स्व विनोद बस्नेत स्मृति संस्करण अन्तरराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’को उद्घाटन बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईंले गरिन् । उद्घाटन समारोह झापा गोल्डकपका अध्यक्ष केदार गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
समारोहमा समाजसेवी स्व डोमालाल राजवंशीकी छोरी सम्पत्ति राजवंशीलाई रु एक लाखसहित सम्मान गरिएको छ । सो अवसरमा देवीगुठीका नाममा करिब १४ बिघा जग्गा प्रदान गरेका स्व राजवंशीको अर्धकदको शालिकसमेत अनावरण गरिएको छ ।
झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष गजेन्द्र पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक वसुन्धरा खड्कासहित विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायत व्यक्तिको उपस्थिति थियो ।
मोफसलको प्रतिष्ठित प्रतियोगिताका रूपमा परिचित झापा गोल्डकपको विजेताले रु १५ लाख र उपविजेताले रु सात लाख ५० हजार पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (मस्ट भ्यालुएबल प्लेयर) लाई मोटरसाइकल प्रदान गरिनेछ । त्यस्तै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही रु ३५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई रु २१ हजार प्रदान गरिनेछ । विधागत पुरस्कारको प्रायोजन अमेरिका निवासी रोशनलाल श्रेष्ठसहितको टोलीले गरेको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, मछिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड, लालीगुराँस क्लब पोखरा, रोयल थिम्पु कलेज(भुटान), सिंग्लिङ स्पोर्ट क्लब (भारत), एन पेनाङ फुटबल क्लब (मलेसिया)र आयोजक झापा-११ गरी १० टोली सहभागी छन् ।
विसं २०७२ देखि झापालाई फुटबल हवका रूपमा विकास गर्ने लक्ष्यसहित आयोजना हुँदै आएको यो प्रतियोगिता पूर्वी नेपालका फुटबल प्रेमीमाझ लोकप्रिय मानिन्छ । यस वर्ष झापाका एक जना पुराना फुटबल खेलाडीलाई नगद रु २५ हजारसहित सम्मान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताअन्तर्गत आइतबार त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।