Alag Dhar

विश्वकपमा बाह्र वर्षपछि नेपालको जित

काठमाडौँ । दीपेन्द्रसिंह ऐरीले सङ्कटका समयमा अविजित अर्धशतकीय पालि खेलेपछि आइसिसी टी–२० विश्वकप २०२६ मा नेपालले मङ्गलबार स्कटल्यान्डलाई सात विकेटले हराएको छ । सुरुका तीन खेल हारेपछि सुपर आठको होडबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा सान्त्वना जित प्राप्त गरेको हो । विश्वकप यात्राको अन्त्य सुखद रूपमा गरेको नेपालले आफ्नो प्रतिष्ठा पनि जोगाएको छ ।

नेपालले १२ वर्षपछि टी–२० विश्वकपमा जित प्राप्त गरेको हो । सन् २०१४ मा बङ्गलादेशमा पहिलो पटक टी–२० विश्वकप खेल्दा नेपालले तीनमध्ये दुई खेल जितेको थियो । पहिलो सहभागितामा अफगानिस्तानलाई हराएपछि नेपालले पहिलो पटक विश्वकपमा जितको स्वाद चाखेको हो । बङ्गलादेशमा खेलेपछि १० वर्षपछि टी–२० विश्वकपमा सहभागिता जनाएको नेपाल पछिल्लो संस्करणमा जितविहीन बनेको थियो ।

यसपालि पनि नेपाल पहिलो खेलमा इङ्ग्ल्यान्डसँग चार रन, दोस्रो खेलमा इटालीसँग १० विकेट र तेस्रो खेलमा वेस्ट इन्डिजसँग नौ विकेटले हारेको थियो । इङ्ग्ल्यान्ड र वेस्ट इन्डिज दुई पटकका विजेता हुन् । यी दुई टिम नै समूह ‘सी’ बाट सुपर आठमा पुगेका छन् । नेपालसहित स्कटल्यान्ड र नवप्रवेशी इटालीको यात्रा सुपर आठमै सकियो । सुरक्षाका कारण देखाउँदै बङ्गलादेशले भारत भ्रमण नगर्ने निर्णय गरेपछि आइसिसी वरीयताका आधारमा अन्तिम समयमा स्कटल्यान्डले विश्वकपमा खेल्ने अवसर पाएको हो ।

दीपेन्द्रको खेल जिताउने अर्धशतक

भारतको मुम्बईस्थित वानखेडे क्रिकेट रङ्गशालामा टस जितेपछि कप्तान रोहित पोडेलले पहिले फिल्डिङ गर्ने निर्णय गर्नुभएको थियो । स्कटल्यान्डले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७० रनको चुनौतीपूर्ण स्कोर बनाएको थियो । नेपालले चार बल बाँकी छँदा तीन विकेटको क्षतिमा १७१ रन बनाएर लक्ष्य हासिल ग¥यो ।

दीपेन्द्र २३ बलमा चार चौका र तीन छक्का प्रहार गरी ५० रनमा अविजित रहनुभयो । गुलसन झा पनि १७ बलमा २४ रन बनाएर आउट हुनुभएन । गुलसनको पालिमा एक चौका र दुई छक्का सामेल थियो । यी दुईले मिलेर सङ्कटका समयमा ७३ रनको अविजित साझेदारी निर्वाह गर्नुभएको हो ।

दीपेन्द्रले २३ बलमा अर्धशतक छुनुभएको थियो । टी–२० विश्वकपमा नेपालका लागि यो सर्वाधिक तेज अर्धशतक पनि भएको छ । टी–२० विश्वकपमा नेपालका लागि बनेका तीन अर्धशतकमध्ये दुई दीपेन्द्रकै नाममा छ । पछिल्लो खेलमा वेस्ट इन्डिजविरुद्ध पनि दीपेन्द्रले ५८ रनको अर्धशतकीय पालि खेल्नुभएको थियो । दीपेन्द्रले कुल १६९ रन बनाएर यस विश्वकपलाई स्मरणीय बनाउनुभएको छ । मङ्गलबारसम्मको खेल सकिँदा दीपेन्द्र सर्वाधिक रनकर्ताको सूचीमा दोस्रो स्थानमा हुनुहुन्छ ।

यसअघि प्रारम्भिक ब्याट्सम्यानद्वय कुशल भुर्तेल र आसिफ सेखले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरी नेपाललाई सानदार सुरुवात दिलाउनुभएको थियो । जुन टी–२० विश्वकपमा नेपालका लागि पहिलो विकेटका लागि सर्वश्रेष्ठ साझेदारी भएको छ ।

भुर्तेलले ३५ बलमा ४३ र आसिफले २७ बलमा ३३ रन बनाउनुभयो । भुर्तेलले एक चौका र चार छक्का तथा आसिफले दुई छक्का प्रहार गनुभएको थियो । नेपालका लागि कप्तान रोहितले पनि १४ बलमा एक चौकासहित १६ रन बनाउनुभयो । स्कटल्यान्डका स्पिनर माइकल लिस्कले मात्र विकेट लिनुभएको थियो । सुरुका तीन ओभरमा मात्र १० रन दिएर भुर्तेल, आसिफ र रोहितलाई आउट गर्ने लिस्कको चौथो ओभरमा दीपेन्द्र र गुलसनले २० रन बटुलेर खेल नेपालतर्फ मोड्नुभएको थियो ।

बलिङमा सानदार पुनरागमन

स्कटल्यान्डले पावरप्लेमा ५२/० को स्थितिमा रहँदै राम्रो सुरुवात गरेको थियो । स्कटल्यान्ड १५ औँ ओभरमा एक विकेटको क्षतिमा १३१ रन बनाएर आरामदायक स्थितिमा थियो । तेस्रो पटक टी–२० विश्वकप खेलिरहेका मध्यम गतिका बलर सोमपाल कामीले डेथ ओभरमा सानदार बलिङ गरेपछि अन्तिम पाँच ओभरमा नेपालले सानदार पुनरागमन जनायो । सोमपालले चर ओभरमा मात्र २५ रन खर्चेर तीन विकेट लिएपछि स्कटल्यान्डले ३९ रन मात्र जोड्दा छ विकेट गुमाएको थियो । अनुभवी सोमपालले १६ औँ ओभरमा दुई विकेट लिँदै खेलको मोड परिवर्तन गर्नुभएको हो । सोमपालले माइकल जोन्सलाई बोल्ड गरेपछि ब्रान्डन म्याकमुलन (२५) लाई उत्कृष्ट रिटर्न क्याचमार्फत पवेलियन फर्काउनुभएको थियो । स्कटल्यान्डका लागि प्रारम्भिक ब्याट्सम्यान जोन्सले आठ चौका र तीन छक्कासहति ४५ बलमा ७१ रनको सानदर पालि खेल्नुभयो । जोन्ससँगै सुरुमै क्रिजमा आएका जर्ज मुन्से २७ रनमा आउट हुनुभयो । स्कटल्यान्डका अन्य ब्याट्सम्यान खासै उल्लेखलायक पाल खेल्न सकेनन् ।

स्कटल्यान्डको पालि अन्तिम समयमा धराशयी बनाउन नन्दन यादवले पनि दुई विकेट लिएर सोमपाललाई उचित साथ दिनुभयो । यसै गरी कप्तान रोहित र भुर्तेलले पनि एक/एक विकेट प्राप्त गर्नुभयो ।

‘क्रिकेट जीवनको उत्कृष्ट पालिमध्ये एक’

‘प्लेअर अफ दी म्याच’ दीपेन्द्रले पछिल्लो विश्वकपमा सबै खेल हारेको र यस विश्वपका पनि सुरुका तीन खेल हारेपछि प्राप्त पहिलो जितले धेरै खुसी लागेको बताउनुभयो । उहाँले स्कटल्यान्डविरुद्धको पालिलाई आफ्नो क्रिकेट जीवनको उत्कृष्ट पालिमध्ये एक हो पनि भन्नुभयो । कप्तान रोहितले आफ्नो नेतृत्वमा विश्वकपमा पहिलो जित दिलाउनु आफ्ना लागि ठुलो कुरा भएको बताउनुभयो । रोहितले पछिल्ला दुई खेलमा कमजोर प्रदर्शन हुँदाहुँदै पनि टिमलाई समर्थन गर्न रङ्गशाला पुगेका र अन्य सबै नेपाली समर्थकलाई धन्यवाद पनि दिनुभयो । यसै गरी स्कटल्यान्डका कप्तान रिचि बेरिङटनले दीपेन्द्रको ब्याटिङले आफ्नो टिम हारेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “हामीले प्रतिस्पर्धात्मक स्कोर बनाएका थियौँ ।”

मुख्य समाचार

रास्वपा मकवानपुरमा पहिरो, सभापती भरत पराजुली काङ्ग्रेसमा प्रवेश 

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुर सभापति भरत पराजुलीले पार्टी छाडेका छन् । उनी नेपाली कांग्रेस फर्किएका हु...

रामेश्वर रानाको मकवानपुरगढी यात्रा : तीन पुस्ताबीचको आत्मीय संवाद

मकवानपुरगढी — फागुनको पारिलो घामसँगै मकवानपुर क्षेत्र नं. १ मा चुनावी चहलपहल तीव्र बन्दै गएको छ । आगामी फागुन २१ गते हुने प्रतिन...

एमाले उम्मेदवार रामेश्वर रानाको घरदैलो अभियान तीव्र

हेटौंडा । नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार रामेश्वर रानाले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै शनि...
पशुपतिनाथ क्षेत्रमा प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ

पशुपतिनाथ क्षेत्रमा प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ

मकवानपुर । पशुपतिनाथ क्षेत्रमा प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ परेका छन्। महाशिवरात्रीमा पशुपतिनाथ क्षेत्रमा एक प्रहरीम...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.