
हेटौंडा । देश अहिले निर्वाचनमय बनेको छ । राजनीतिक दलहरु आ–आफ्ना उमेदवारलाई जिताउन घरदैलो तथा कोणसभालाई तीव्रता दिएका छन । मतदाता फकाउन उमेदवारहरु आफ्ना प्रतिबद्धता, प्रतिज्ञापत्र, वाचापत्रसहित हरेक मतदाताको घर पुगिरहेका छन । यसैक्रममा मकवानपुरमा पनि निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ ।
मकवानपुरमा क्षेत्र नम्वर –२ मा पनि उमेदवार मतदाता फकाउन व्यस्त छन् । उनीहरुले आफूले जित्ने दाबी पनि गर्दै आएका छन । मकवानपुर क्षेत्र नम्वर–२ का एमालेका उमेदवार महेश बर्तौलाले पनि घरदैलो कार्यक्रमलाई तीव्रता दिइरहेका छन् । एमाले उम्मेदवार कैलाश गाउँपालिकाका बर्तौला आफ्नो सक्रियता, संगठन र विगतमा गरेको विकासका कामबाट उत्साहित देखिन्छन् ।

उनी आफू मकवानपुरको विकास र राजनीतिमा योगदान पु¥याएकोले आफूले चुनाव जित्ने दाबी गरेका छन् । ‘म हिजो ३२ महिना संसदीय भुमिका मार्फत तपाईहरुले दिएको जिम्मेवारी पुरा गर्ने सन्दर्भमा यस क्षेत्रका मतदातारुको नाकमा हिलो लाग्नेगरी तपाईहरुलाई अपमानित गर्नेगरी मैले कुनै गलत क्रियाकलाप गरेको छैन ’, बर्तौलो भने ।
बर्तौलाले आफु निर्वाचित भएर गइसकेपछि एउटा सांसदले गर्नुपर्ने कर्तव्य पुरा गरेको दाबी गरे । संसदमा कानुन निर्माण गर्न जाने बताउँदै उनले आफुले महत्वपुर्ण कानुन निर्माणमा भुमिका खेलेको बताए ।
‘२४ वटा कानुनमा यहाँका जनताका सुझाव र यहाँका जनताका धारणहरुलाई केन्द्रमा राखेर २४ वटा भन्दा धेरै कानुनहरुमा मैले प्रत्यक्ष सहभागी भएर काम गरेको छु ,’ उनले , ‘यो देशको १६ वर्षदेखि नटुंगेको शसस्त्र बिद्रोहको संक्रमणकालीन न्यायसँग जोडिएको कानुनलाई निष्कर्शमा पु¥याउन महत्वपुर्ण भुमिका खेलेर आएको छु ।’
०७९ मा बर्तौलाले एकीकृत समाजवादीका विरोध खतिवडालाई ४ हजार ५ सय २० मतान्तरले पराजित गरेका थिए । उक्त क्षेत्रमा कांग्रेस, माओवादी केन्द्र र समाजवादीले गठबन्धन गरेर खतिवडालाई उम्मेदवार बनाएका थिए । बर्तौलाले ३४ हजार ९ सय १६ मत ल्याएका थिए । खतिवडाले ३० हजार ३ सय ९६ भोट पाएका थिए । रास्वपाका भरत पराजुलीले १२ हजार ३९ मत ल्याएका थिए । राप्रपाका राजन मैनालीले २ हजार १ सय ९४ मत प्राप्त गरेका थिए ।