
हेटौंडा — नेकपा एमाले बागमती प्रदेश संसदीय दलले हालका दिनहरूमा सुकुम्बासी बस्तीहरूमा भइरहेको डोजर कारबाहीप्रति गम्भीर आपत्ति जनाउँदै सरकारको कदमको कडा शब्दमा आलोचना गरेको छ।
दलका नेता जेएन थपलियाद्वारा सार्वजनिक विज्ञप्तिमा वर्तमान बालेन्द्र सरकारले पर्याप्त पूर्वसूचना बिना नै भूमिहीन सुकुम्बासीका बस्तीहरूमा डोजर चलाएको आरोप लगाइएको छ। विज्ञप्तिमा कतिपय स्थानमा केवल १–२ दिन, केही अवस्थामा त १ घण्टामात्र सूचना दिएर घर भत्काइएको उल्लेख गर्दै यसले नागरिकलाई जबरजस्ती आवासविहीन बनाएको भनिएको छ।
सरकारले व्यवस्थापनका लागि तोकेका दशरथ रङ्गशाला लगायतका स्थानहरूमा समेत बसोबास र खानपानको उचित व्यवस्था नगरी अमानवीय व्यवहार गरेको आरोप एमालेको छ। यस अवस्थाले बालबालिका, वृद्धवृद्धा, सुत्केरी महिला तथा बिरामीहरू थप समस्यामा परेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
दलले यस्तो परिस्थितिका कारण दुई जनाले आत्महत्या गरेको दाबी गर्दै यसलाई राज्यको गैरजिम्मेवार र पाशविक व्यवहारको उदाहरणका रूपमा चित्रण गरेको छ। साथै, बालेन्द्र सरकारको कार्यशैली पञ्चायतकालीन निरंकुशतालाई समेत बिर्साउने खालको भएको भन्दै घोर निन्दा र भर्त्सना गरिएको छ।
एमाले बागमती प्रदेश संसदीय दलले सरकारसँग सुकुम्बासीहरूलाई पर्याप्त समय दिएर वैकल्पिक आवासको तत्काल व्यवस्था गर्न, साथै बालबालिका, सुत्केरी महिला, वृद्धवृद्धा, रोगी तथा अशक्त व्यक्तिहरूको उचित उपचारको व्यवस्था गर्न जोडदार माग गरेको छ।