
काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि सङ्घीय संसद्को दुवै सदनका अधिवेशन आह्वान गर्नुभएको छ ।
उहाँले २८ गते सोमबार दिउँसो २ बजे बस्ने गरी दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले विज्ञप्तिमार्फत जानकारी दिनुभयो । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संसद् अधिवेशन आह्वान गर्नुभएको हो ।
यसअघि मन्त्रिपरिषद्को सिफारिसमा गएको वैशाख १७ गतेका लागि आह्वान भएको सङ्घीय संसद्को दुवै सदनको अधिवेशन राष्ट्रपति पौडेलले स्थगित गर्नुभएको थियो । सरकारले वैशाख ९ मा राष्ट्रपति पौडेलसमक्ष वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वानको सिफारिस गरेको थियो ।
आह्वान भइसकेको अधिवेशन रोकेर सरकारले विभिन्न अध्यादेश ल्याएको छ । विभिन्न ८ वटा अध्यादेश जारी भइसकेपछि संसद् बैठक आह्वान भएको हो ।