
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेपछि प्रहरीले होटल सञ्चालकसहित ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उक्त स्थानमा एक पुरुष मृत अवस्थामा रहेको सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक उमाशंकर प्रसादको नेतृत्वमा अनुसन्धान टोली घटनास्थल पुगेको थियो। घटनास्थल वरिपरि रगत देखिएपछि प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान सुरु गरेको हो।
अनुसन्धानका क्रममा मृतक थाहा नगरपालिका–१० स्थायी ठेगाना भएका स्वर्गीय रामबहादुर गोपालीका ४१ वर्षीय छोरा आश्मान गोपाली रहेको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे मृतकका परिवारलाई जानकारी गराइसकिएको छ।
घटनाको थप अनुसन्धानका लागि बिहान ८ः३० बजे बागमती प्रदेश प्रहरी कार्यालयको शाखाबाट कुकुरसहितको टोलीसमेत घटनास्थलमा परिचालन गरिएको थियो।
घटनासँग सम्बन्धित आशंकामा प्रहरीले होटल सञ्चालक कमानसिंह माझीसहित ८ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर–९ बस्ने २२ वर्षकि पार्वती ब्लोन, मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर– ३ बस्ने ३४ वर्षिय किराममाया थिङ, ललितपुर गोदावरी नगरपालिका वडा नम्बर–७ बस्ने ३५ वर्षकी आशिका लामा, उदयपुर बेलटार नगरपालिका–७ बस्ने ३२ वर्षकी मनिषा दाहाल, हेटौडा उपमहानगरपालिका वडा नम्बर–१७ बस्ने २४ वर्षीय रबिन प्रजा र नुवाकोट पञ्चकन्या गाउँपालिका –५ बस्ने २२ वर्षिय बिनिशा तामाङ, सिन्धुली घ्यांङलेख गाउँपालिका–२ बस्ने बर्ष ३३ वर्षिय निरु तामाङ तथा होटल सञ्चालक मकवानपुर बकैया गाउँपालिका वडा नम्बर– ५ वर्ष बस्ने ४० वर्षिय कमानसिंह माझी रहेका छन्। पक्राउ परेकामध्ये ६ जना महिला छन्।
स्थानीय बासिन्दा तथा मृतकका आफन्तले आश्मान गोपालीको हत्या भएको दाबी गरेका छन्। प्रहरीले भने घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजेश बतौलाले होटलमा बसेका तथा शंकास्पद देखिएका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान भइरहेको जानकारी दिए। घटनाको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन र अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।