
हेटौंडा । बागमती प्रदेशमा नेकपा (एमाले) का तर्फबाट प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियानै मुख्यमन्त्री बन्ने सम्भावना बलियो बन्दै गएको छ। नेकपा एमाले र नेकपाबीच भएको सत्ता साझेदारीको भागबण्डाअनुसार बागमती प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेपछि अब पार्टीले कसलाई नेतृत्वमा अघि सार्छ भन्ने विषय केही दिनदेखि चर्चाको केन्द्रमा थियो। तर पछिल्ला राजनीतिक घटनाक्रमले संसदीय दलका नेता थपलियालाई नै मुख्यमन्त्री बनाउने दिशामा एमाले नेतृत्व पुगेको संकेत गरेका छन्।
मुख्यमन्त्रीका आकांक्षीका रूपमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र पूर्व स्वास्थ्यमन्त्री किरण थापाको नाम चर्चामा रहे पनि पार्टीले संसदीय दलको नेतृत्व परिवर्तन नगरी थपलियालाई नै मुख्यमन्त्री बनाउने सम्भावना बलियो भएको अध्यक्ष ओलीसंगको भेटमा सहभागि एक नेताले बताए ।
यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शुक्रबार बेलुकी भएको छलफलपछि थपलियाको सम्भावना थप मजबुत बनेको हो। अध्यक्ष ओलीसँग भएको भेटमा बागमती प्रदेशका नेताहरू, मुख्यमन्त्रीका दुवै आकांक्षी जगन्नाथ थपलिया र किरण थापा, एमाले सचिव महेश बस्नेत, बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल, उपाध्यक्ष दावा दोर्जे लामा, प्रदेशका प्रमुख सचेतक एकालाल श्रेष्ठलगायतका नेताहरू सहभागी थिए।
भेटका क्रममा अध्यक्ष ओलीले अहिले संसदीय दलका नेता रहेका थपलियालाई नै मुख्यमन्त्री बनाउने पक्षमा आफ्नो धारणा व्यक्त गरेको सहभागी एक नेताले बताएका छन्। ओलीको भनाइपछि प्रदेश नेतृत्वसमेत थपलियाको पक्षमा स्पष्ट देखिएका छन् ।
भेटपछि एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले जनपत्र डटकमसंग प्रतिक्रिया दिँदै बागमतीमा एमालेको तर्फबाट थपलियाले नै सरकारको नेतृत्व गर्ने संकेत दिएका छन्। यद्यपि पार्टीले औपचारिक निर्णय भने सार्वजनिक गरिसकेको छैन।
यसैबीच नयाँ सरकार गठनका लागि आवश्यक समर्थन जुटाउने गृहकार्य पनि तीव्र बनाइएको छ। सोमबारसम्म राप्रपाका प्रदेशसभा सदस्यलाई समेत सहभागी गराएर नयाँ सरकार गठन गर्ने तयारी भइरहेको अध्यक्ष ओलीसँगको भेटमा सहभागी अर्का एक नेताले बताए। सत्ता समीकरणलाई अन्तिम रूप दिन एमालेले राप्रपासँग पनि निरन्तर संवाद गरिरहेको जनाइएको छ।
यद्यपि एमालेभित्र भने मुख्यमन्त्रीको विषयमा मत एकरूप छैन। प्रदेशका सांसदहरू जगन्नाथ थपलिया र किरण थापाको पक्षमा विभाजित देखिएका छन्। थापालाई संसदीय दलको नेता बनाएर मुख्यमन्त्री अघि सार्ने उद्देश्यले १९ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसमेत संकलन गरिएको थियो।
तर ती हस्ताक्षर पार्टीको कुनै पनि औपचारिक निकायमा पेश गरिएको छैन। हस्ताक्षर संकलनपछि त्यसबारे अध्यक्ष ओलीलाई जानकारी गराइएको भए पनि तत्काल संसदीय दलको नेतृत्व परिवर्तनको प्रक्रिया अघि नबढाउन सुझाव आएपछि हस्ताक्षर यथावत् राखिएको छ।
अब एमालेको औपचारिक निर्णय र सत्ता गठबन्धनभित्रको अन्तिम सहमतिपछि बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ। राजनीतिक वृत्तमा भने अध्यक्ष ओलीको संकेतपछि संसदीय दलका नेता जगन्नाथ थपलियाले नै बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीको शपथ लिने सम्भावना सबैभन्दा बलियो बनेको चर्चा छ।