
दाङ । तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु भएको छ ।
शनिबार राति करिब ९ बजे तुलसीपुर–११ उरहरीमा हलवार स्वास्थ्य चौकीको रा १ झ २११ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो ।
तुलसीपुर–९ निवासी अनिल पुनका डेढ महिने शिशुलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा एम्बुलेन्स दुर्घटनामा परेको परिवारले जनाएको छ ।
दुर्घटनाका क्रममा शिशु आमाको हातबाट झरेर एम्बुलेन्सको सिटमुनि पुगेको र त्यहाँबाट निकालिएको परिवारको भनाइ छ ।दुर्घटनापछि शिशुलाई अर्को एम्बुलेन्समार्फत नेपालगञ्ज लगिएको थियो ।
थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा एम्बुलेन्स दुर्घटनामा परेको परिवारले जनाएको छ । दुर्घटनामा अन्य तीन जना सामान्य घाइते भएका छन् ।
प्रहरीका अनुसार शिशुको मृत्यु बिरामीका कारण भएको हो वा एम्बुलेन्स दुर्घटनाका कारण भन्ने विषयमा यकिन भइसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।