
मकवानपुर । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’का कारण नेपालको मौसममा गम्भीर असर पर्ने भन्दै उच्च सतर्कताका लागि अनुरोध गरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, यो प्रणालीको प्रभाव कार्तिक १३ गते बिहीबार दिउँसोदेखि कार्तिक १५ गते शनिबार बिहानसम्म रहनेछ। चक्रवात मोन्थाको सीधा प्रभाव कोशी, मधेस र बागमती प्रदेशमा पर्नेछ।
मधेस र कोशी प्रदेशका धेरै स्थान तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। मधेस र कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।प्रभावित हुने प्रदेश र जिल्लाहरू :

हिमपात र नदीको बहावमा वृद्धि
हिमपात: कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम हिमपातको सम्भावना छ।
भारी हिमपात: कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको समेत सम्भावना छ।
नदी बहाव: उक्त अवधिमा बागमती, कमला, कोशी र कन्काई नदी र यिनका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्नेछ। कोशी, बागमती र मधेस प्रदेशका महाभारत, चुरे भई बहने स-साना नदीनालाहरूमा आकस्मिक बहाव हुन सक्ने सम्भावना समेत रहेको छ।
जोखिम र पूर्वतयारीका लागि अनुरोध
सम्भावित वर्षा र हिमपातका कारण आकस्मिक बहाव, पहिरो लगायतका जोखिमका साथै सडक तथा हवाई यातायात, कृषि, पर्यटन लगायतका क्षेत्रमा समेत प्रभाव पर्न सक्ने सम्भावना छ। त्यसैले, प्राधिकरणले सबै सम्बन्धित निकाय र सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ:
प्राधिकरणले तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक लगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अनुरोध गरेको छ। त्यसैगरी, पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरू जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही अलर्टमा रहन भनिएको छ।