Alag Dhar

शीतलहरबाट तराई-मधेश क्षेत्रको जनजीवन प्रभावित

मकवानपुर । अत्यधिक चिसो र शीतलहरका कारण महोत्तरीसहित सम्पूर्ण तराई–मधेश क्षेत्रको जनजीवन प्रभावित बनेको छ। पछिल्ला केही दिनयता तापक्रम तल झरेपछि बालबालिका, वृद्ध तथा दीर्घरोगीहरू बढी जोखिममा परेका छन्। चिसोको प्रभाव बढ्दै गएपछि विभिन्न स्थानीय तहले सावधानीस्वरूप सामुदायिक तथा धार्मिक विद्यालयहरूमा जाडो बिदा दिन थालेका छन्।

महोत्तरीको भंगहा र रामगोपालपुर नगरपालिकाले मङ्गलबारदेखि शुक्रवार सम्मका लागि नगरभित्रका सबै सामुदायिक तथा धार्मिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ। पछिल्ला दिनहरूमा चिसो अत्यधिक बढेर दैनिक जनजीवन कष्टकर बनेपछि बालबालिकाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको भंगहा नगरपालिकाका नगर प्रमुख संजीव कुमार साहले जानकारी दिनुभयो। उहाँका अनुसार मौसम सामान्य नहुन्जेलसम्म विद्यालय सञ्चालन गर्नु जोखिमपूर्ण हुन सक्ने भएकाले अस्थायी रूपमा बिदा दिइएको हो।

त्यसैगरी, महोत्तरीकै रामगोपालपुर नगरपालिकाले पनि अत्यधिक चिसोका कारण शिक्षण–सिकाइ प्रक्रियामा प्रतिकूल असर परेको भन्दै चार दिनका लागि विद्यालय बिदा दिएको जनाएको छ। रामगोपालपुर नगरपालिकाका नगर प्रमुख रामदुलार साहले बढ्दो चिसोले विशेषगरी साना कक्षामा अध्ययनरत बालबालिकालाई बढी असर गर्ने भएकाले सावधानीका रूपमा विद्यालय बन्द गर्नुपरेको बताउनुभयो। मौसम अनुकूल भएपछि विद्यालय नियमित रूपमा सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो।

जाडोयाम सुरु भएसँगै दक्षिण एसियाको ठूलो भू–भाग शीतलहर र बाक्लो कुहिरोको प्रभावमा परेको छ। पश्चिम पाकिस्तानदेखि भारत हुँदै बंगलादेशसम्म फैलिएको इण्डो–गंगा समथर क्षेत्र हाल घना कुहिरोले ढाकिएको छ। यस क्षेत्रसँग भौगोलिक रूपमा जोडिएको नेपालको तराई–मधेश भू–भाग पनि सोही मौसमी प्रणालीको प्रत्यक्ष प्रभावमा परेको मौसमविद्हरू बताउँछन्।

जल तथा मौसमसम्बन्धी अध्ययनअनुसार भारतीय उपमहाद्वीपमा शीतलहर नियमित मौसमी प्रक्रिया हो। सन् १९६१ देखि २०१५ सम्म भारतका विभिन्न जल तथा मौसम मापन केन्द्रमा गरिएको अध्ययनले दक्षिण समथर भू–भाग र उत्तर–पूर्वी भारतबाहेक अन्य क्षेत्रमा शीतलहर निरन्तर देखिँदै आएको उल्लेख गरेको छ। नेपालको तराई–मधेश क्षेत्र पनि हरेक वर्ष शीतलहरबाट प्रभावित हुने गरेको भए पनि यससम्बन्धी विस्तृत अध्ययन अझै पर्याप्त हुन सकेको छैन।

विगतका अध्ययनहरूले जाडोयाममा न्यूनतम तापक्रम बढ्दो र अधिकतम तापक्रम घट्दो क्रममा रहेको देखाएका छन्। साथै, हिउँदमा अत्यधिक चिसो हुने दिनहरूको संख्या पनि क्रमशः बढ्दै गएको छ। स्थानीयवासीहरूका अनुसार मंसिर महिनादेखि नै कुहिरो लाग्न सुरु भई माघ अन्त्यसम्म शीतलहरको प्रभाव रहने गर्दछ। औसतमा वर्षेनी करिब ३० दिन शीतलहरको प्रभाव रहने गरेको तथ्यांकले देखाउँछ।

शीतलहर र कुहिरोको असर मानव स्वास्थ्यसँगै कृषि क्षेत्रमा पनि देखिएको छ। औरही नगरपालिका २ का किसान रामपृत यादवको अनुसार आलु, गोलभेँडा, भन्टा र खुर्सानीजस्ता तरकारी बाली बढी प्रभावित भएको छ। कृषकहरूका अनुसार कुहिरोका कारण आलुमा लाग्ने डडुवा रोगको जोखिम बढेको छ, जसले उत्पादनमा ठूलो क्षति पुर्‍याएको छ।

अत्यधिक चिसोका र बाक्लो कुहिरोले सडक तथा हवाई यातायात समेत प्रभावित हुनुको साथै सडक दुर्घटनाको जोखिम बढेको छ। शीतलहर र कुहिरोको समयमा मानव जीवन, कृषि तथा पशुपन्छीको संरक्षणका लागि राज्यको तर्फबाट प्रभावकारी र दीर्घकालीन कार्यक्रम आवश्यक रहेको स्थानीयवासीहरूले औँल्याएका छन्।

यसैबीच महोत्तरी जिल्लामा बढ्दो शितलहरको प्रभावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले शितलहर व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय तह, डिभिजन वन कार्यालय तथा सरोकारवाला निकायलाई समन्वय र सहकार्यका लागि आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकार इन्द्रदेव यादवका अनुसार शितलहरबाट प्रभावित नागरिकलाई राहत दिन सहुलियत दरमा दाउरा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

डिभिजन वन कार्यालय तथा जिल्ला वन पैदावर आपूर्ति समितिबाट माग अनुसार दाउरा उपलब्ध भइरहेको प्रजिअ यादवले बताउनुभयो । यसले विशेषगरी विपन्न तथा जोखिममा रहेका समुदायलाई राहत पुग्ने विश्वास लिइएको छ ।

यस्तै, अति विपन्न तथा आवश्यक परिवारका लागि न्यानो लुगा उपलब्ध गराउने जिम्मेवारी स्थानीय तहहरूले लिएका छन् । स्थानीय तहमार्फत आवश्यकता अनुसार न्यानो कपडा वितरण तथा व्यवस्थापन भइरहेको र यस कार्यमा गैरसरकारी संस्था तथा अन्य सरोकारवालाको सहकार्य आवश्यक रहेको प्रशासनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले शितलहर व्यवस्थापनलाई थप प्रभावकारी बनाउन जिल्लास्थित सम्पूर्ण स्थानीय तह, गैसस, सामाजिक संघसंस्था तथा अन्य सरोकारवालालाई सक्रिय भूमिका निर्वाह गर्न अनुरोध गरेको छ ।

प्रजिअ यादवले समन्वय र सहजीकरणमार्फत नागरिकलाई सुरक्षित राख्न सबै निकायको साझा प्रयास अपरिहार्य रहेको बताउनुभएको छ।

मुख्य समाचार

उद्योग–पर्यटन–वन मन्त्रालय एकै छातामुनि ल्याउने योजना

उद्योग–पर्यटन–वन मन्त्रालय एकै छातामुनि ल्याउने योजना

हेटौंडा । बागमती प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिको बैठक हेटौंडामा सम्पन्न भएको छ। समितिका सभापति आनन्द कुमार श्रेष्ठको...
भुटनदेवी माविले हाेटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन गराउने

भुटनदेवी माविले हाेटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन गराउने

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको सबैभन्दा पुरानो र उत्कृष्ट नतिजा दिलाउदै आएको भुटनदेवी माविले कक्षा ११ र १२ मा होटल म्यानेजम...
सुनको भाउ  १ हजार ३ सय रुपैयाँले घट्यो

सुनको भाउ १ हजार ३ सय रुपैयाँले घट्यो

काठमाण्डौं । सुनचाँदीको भाउ आज घटेको छ । सुन तोलामा १ हजार ३ सयले घटेर आज तोलाको २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको ने...
पेस्तोलसहित एक युवक पक्राउ

पेस्तोलसहित एक युवक पक्राउ

काठमाडौं । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४ वर्षीय श्याम कुँवर भन्ने स...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.