
काठमाण्डौं । उपत्यका मेयर्स फोरमले विद्यालयमा आइतवार पनि बिदा दिने निर्णय फिर्ता लिन आग्रह गरेको छ । ललितपुरको महालक्ष्मी नगकरपालिकामा बसेको फोरमको बैठकले सरकारले संविधान विपरीत विद्यालयमा बिदा दिने निर्णय गरेको निष्कर्ष निकाल्दै बिदा फिर्ता लिन माग गरेको हो ।
मेयर्स फोरमका अध्यक्ष एवम् ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै आवश्यक परे कानूनी प्रक्रियामा जाने चेतावनीसमेत दिनुभयो ।
शिक्षा ऐनअनुसार विद्यालय वर्षमा २२० दिन सञ्चालन हुनुपर्छ । तर सरकारले अप्रत्याशित रूपमा आइतवार बिदा दिने निर्णय गर्दा अध्ययन–अध्यापन प्रभावित हुने अवस्था सिर्जना भएको उहाँको भनाइ छ ।
सरकारको निर्णयले विद्यालयहरू १९० दिन पनि सञ्चालन गर्न कठिन हुने देखिन्छ । पालिकाले आफ्नो शैक्षिक क्यालेन्डर बनाइसकेको अवस्थामा केन्द्र सरकारले राजपत्रमै सूचना प्रकाशित गरेर निर्णय गर्नु संविधान र शिक्षा ऐनको मर्म विपरीत रहेको महर्जनले बताउनुभयो ।
बैठकले यसको समाधान खोज्न काठमाण्डौ उपत्यका मेयर्स फोरमको सचिवालयलाई अध्ययनको जिम्मा दिइएको छ ।