
काठमाण्डौं । चीनलाई हराउँदै नेपाली क्रिकेट टाेलीले एशियाली खेलकुद छनाेटमा विजयी शुरुआत गरेकाे छ ।
सिङ्गापुरमा आज भएकाे उद्घाटन नेपालले चीनलाई २२१ रनले हरायाे । नेपालले दिएकाे ३१४ रनकाे लक्ष्य पछ्याएकाे चीनले १९ ओभर २ बलमा ९२ रन बनाउँदा सबै विकेट गुमायाे । चीनकाशेन्जियान झेङले ३१ रन बनाए । नेपालका कुशल मल्लले ३ तथा साेमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा २ विकेट गुमाएर ३१३ रन बनायाे । नेपालका कुशल भुर्तेलले शतक बनाए । भुर्तेल ४३ बलमा १६ छक्का र ५ चाैकाकाे मद्दतमा १२९ रन बनाएर आउट भए । यस्तै कुशल मल्लले नटआउट ८५, राेहित पाैडेलले ६९ रन बनाए । चीनका मा क्वानचेङ र देङ जिनकीले १/१ विकेट लिए ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालकाे याे दाेस्राे धेरै रन हाे । यसअघि सन् २०२३ मा नेपालले एशियाली खेलकुदमा मङ्गाेलियासँगकाे खेलमा ३१४ रन बनाएको थियो ।
आजकाे खेलमा कुशल भुर्तेलले खेलको नवौँ ओभरमा ६ छक्का प्रहार गरे । उनी यो कीर्तिमान बनाउने नेपालका दोस्रो र विश्वका छैटौँ खेलाडी हुन् ।
याे जीतसँगै नेपाल समूह ‘ए’ काे शीर्ष स्थानमा छ । याे समूहमा नेपाल, चीन र मलेशिया छन् । यसअघि यो समूहमा रहेको कतारले प्रतियोगितामा सहभागिता नजनाएपछि समूहमा ३ वटा टोली रहेका हुन् । यस्तै समूह ‘बी’ मा बहराइन, हङकङ, ओमान र सिङ्गापुर छन्।