
काठमाण्डौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गरेको छ । मेक्सिकोको ग्वादालाहारा रङ्गशालामा सम्पन्न खेलमा दक्षिण कोरियाले उत्कृष्ट प्रदर्शन गर्दै महत्त्वपूर्ण तीन अङ्क हात पारेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५६औँ मिनेटमा चेकियाका कप्तान लेडिस्क्लाभ क्रेज्कीले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दक्षिण कोरियाका ह्वाङ इबोनले ६७औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । ८०औँ मिनेटमा ओ हेन्युले गोल गर्दै दक्षिण कोरियाको जीत सुनिश्चित गरे ।
खेलभर चेक रिपब्लिकले केही राम्रो अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा हार बेहोर्नुपरेको हो । लगातार १२औँ पटक विश्वकप खेलिरहेको दक्षिण कोरियाले प्रतियोगितामा सुखद शुरुआत गरेको छ भने चेक रिपब्लिक सन् २००६ पछि पहिलो पटक विश्वकपमा सहभागी भएको हो ।
आज राति नेपाली समयअनुसार पौने १ बजे समूह ‘बी’ मा क्यानडा र बोस्निया एण्ड हर्जगोभिनाबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, भोलि बिहान पौने ७ बजे समूह ‘डी’ अन्तर्गत अमेरिका र पाराग्वेबीच प्रतिस्पर्धा हुनेछ ।