
रामेछाप । प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेललाई प्रदान गरेको छ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष समारोहमा पौडेललाई २५ हजार रुपैयाँ नगद, दोसल्ला र प्रशंसा पत्रसहित सम्मान गरिएको हो। पुरस्कार ग्रहणपछि पौडेलले मुलुक जटिल राजनीतिक तथा सामाजिक परिस्थितिबाट गुज्रिरहेका बेला जिम्मेवार पत्रकारिताको आवश्यकता अझ बढेको बताए। नेपाली पत्रकारिता अहिले आत्म–नियन्त्रण र विभिन्न प्रकारका अवरोधको सामना गरिरहेको उल्लेख गर्दै उनले ती चुनौतीलाई चिर्दै सत्य र तथ्यमा आधारित पत्रकारिता अघि बढ्ने विश्वास व्यक्त गरे। प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरामान लामाको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष लेखबहादुर विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले पुष्पलाल राष्ट्रिय सीमामा मात्र सीमित नभई अन्तर्राष्ट्रिय व्यक्तित्व भएको बताए ।
पुष्पलालको विचार र योगदानलाई विश्वसामु चिनाउन नेपाली सञ्चारमाध्यम र पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले पुरस्कृत पत्रकार पौडेलले पनि त्यस अभियानलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गरे। नेकपा एमालेका केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज माधव ढुङ्गेलले पुष्पलालको जन्मभूमि रामेछापलाई राजनीतिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सञ्चारमाध्यम र पत्रकारहरूले रचनात्मक भूमिका खेल्नुपर्ने बताए। पुष्पलालले अघि सारेको वाम–लोकतान्त्रिक शक्तिको सहकार्यको अवधारणा आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै उनले वर्तमान राष्ट्रिय चुनौतीको सामना गर्न संविधान पक्षधर लोकतान्त्रिक सक्तीहरूबिच सहकार्य आवश्यक रहेको धारणा राखे।
बागमती प्रदेशसभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले नेपालको कम्युनिष्ट आन्दोलनका कमजोरीहरूको इमानदार समीक्षा आवश्यक रहेको बताए। समीक्षा नगरी हुने गठबन्धन वा पार्टी एकताले दीर्घकालीन उपलब्धि नदिने उल्लेख गर्दै उनले सत्ता स्वार्थमा आधारित राजनीतिक सहकार्यले आन्दोलनलाई थप जटिल बनाउने धारणा राखे।
कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्यहरू शान्तिप्रसाद पौडेल, प्रेमबहादुर तामाङ र ज्ञानकुमार श्रेष्ठ, पार्टीका कार्यवाहक जिल्ला अध्यक्ष होतराज ढकाल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य नवराज पथिक, प्रेस चौतारी नेपाल बागमती प्रदेश अध्यक्ष तिलकराम रिमाल, नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष दीपक घिमिरे, पूर्वअध्यक्ष बद्री नयाँघरेलगायतले शुभकामना मन्तव्य व्यक्त गरे । यसै अवसरमा पुरस्कार कोष स्थापनाका लागि सहयोग गर्ने नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा समाजसेवी रत्न गौतमले लाई सम्मानपत्र प्रदान गरिएको थियो । गौतमले सो कोषको लागि ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पाँच वर्षसम्म वार्षिक एक लाख रुपैयाँका दरले कोषमा रकम जम्मा गर्ने घोषणा गरेका छन् भने पहिलो वर्षको रकमसमेत कोषमा जम्मा गरिसकेका छन् ।
यसअघि पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस उनको जन्मथलो रामेछाप नगरपालिका–८ भँगेरीमा श्रद्धाञ्जली कार्यक्रम गरी मनाइएको थियो। नेकपा एमाले रामेछापको आयोजनामा भएको कार्यक्रममा शहीद गंगालाल र पुष्पलालको सालिकमा पुष्प गुच्छा अर्पण गरिएको थियो। सो अवसरमा ढुङ्गेलले पुष्पलाललाई दूरदर्शी नेता भएको उल्लेख गर्दै कम्युनिष्ट र लोकतान्त्रिक सक्तीबिच सहकार्यको उनको अवधारणाकै जगमा नेपालमा बहुदलीय व्यवस्था र गणतन्त्र संस्थागत भएको बताए। वर्तमान राजनीतिक परिस्थितिमा वाम सक्तीहरूबिच पुनः एकता आवश्यक रहेको उल्लेख गर्दै उनले संविधान पक्षधर सक्तीहरूबिच सहकार्य अपरिहार्य रहेको धारणा राखे। एमाले देशको रक्षा, विकास र समृद्धिका लागि आवश्यक परे रूपान्तरण हुन र सबै पक्षसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो।
