
हेटौँडा । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा जारी तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्सतर्फ चितवन जिल्ला पहिलो भएको छ । हेटौँडामा सम्पन्न एथ्लेटिक्स विधामा चितवनले १५ स्वर्ण, १३ रजत र ३ कास्य गरी कुल ३१ पदक जित्दै पहिलो स्थान हासिल गरेको हो ।
प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाका खेलाडीहरूको सहभागिता रहेको थियो । विभिन्न स्पर्धामा भएको प्रतिस्पर्धामा चितवनका खेलाडीहरूले पुरुष र महिलातर्फ उत्कृष्ट प्रदर्शन गरेका हुन् । चितवनले पुरुषतर्फ ९ स्वर्ण, ८ रजत र २ कास्य पदक जितेको छ भने महिलातर्फ ६ स्वर्ण, ५ रजत र १ कास्य पदक जितेको छ । एथ्लेटिक्सतर्फ काठमाडौं दोस्रो स्थानमा रह्यो । काठमाडौंले ८ स्वर्ण, १ रजत र १ कास्य गरी कुल १० पदक जितेको हो ।
काठमाडौंले महिलातर्फ ५ स्वर्ण र पुरुषतर्फ ३ स्वर्ण पदक जितेको छ । त्यस्तै, भक्तपुर तेस्रो भएको छ । भक्तपुरले ५ स्वर्ण, ५ रजत र ३ कास्य गरी कुल १३ पदक जितेको हो । भक्तपुरले महिलातर्फ ३ स्वर्ण र पुरुषतर्फ २ स्वर्ण पदक हात पारेको छ ।
प्रतियोगिताअन्तर्गत एथ्लेटिक्स विधामा खेलाडीहरूले हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, सटपुट, ज्याभेलिन थ्रो, रिले दौडलगायतका स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा सहभागी खेलाडीहरूले जिल्ला प्रतिनिधित्व गर्दै प्रदेशस्तरमा आफ्नो क्षमता प्रदर्शन गरेका हुन् ।
प्रदेश खेलकुद विकास परिषद्ले प्रतियोगितालाई नयाँ प्रतिभा पहिचान र प्रदेशस्तरीय खेलाडी उत्पादनको अवसरका रूपमा लिएको जनाएको छ । एथ्लेटिक्सतर्फ चितवनले हासिल गरेको नतिजाले जिल्लाको खेलकुद तयारी र खेलाडीको प्रदर्शन बलियो देखिएको छ ।