
काठमाण्डौं । नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधन भएको छ । उहाँको ८७ वर्षको उमेरमा हिजो बेलुका काठमाण्डौको विशालनगरमा रहेको आफ्नै निवासमा निधन भएको हो ।
क्यान्सरका बिरामी पाण्डेको ह्याम्स र पाटन अस्पतालमा उपचार गरिएको थियो । पाण्डेको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएका छन् ।
पाण्डेले नेपालको लोकतान्त्रिक तथा नागरिक आन्दोलन, नेपालको अर्थतन्त्र तथा विकास प्रशासन र सुशासनका क्षेत्रका महत्वपूर्ण योगदान पुर्याउनुभएको छ ।
२०४६ सालको आन्दोलनपछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेको अन्तरिम सरकारमा २०४७ देखि २०४८ सम्म उहाँ अर्थमन्त्री समेत हुनुहुन्थ्यो । त्यही सरकारको पालामा नेपालको संविधान २०४७ बनेको थियो । उहाँलाई नेपालका उत्कृष्ट अर्थ सचिवको रुपमा पनि लिइन्छ ।