
हेटौँडा । सरकारका तर्फबाट अनुचित गतिविधिहरु सुधार गर्न भन्दै नेपाली कांग्रेस मकवानपुरले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाएको छ । सोमबार नेपाली कांग्रेसका जिल्ला सभापति बुद्ध लामाले प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीमार्फत ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको हो ।
नेपाली कांग्रेस जिल्ला कार्यालय कांग्रेस चोकदेखि र्यालीसहित जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाइएको थियो । ज्ञापनपत्रमा नेपालले भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालीको शिर निहुरिएको भन्दै नेपालले मिचेका भारतीय भूमिहरुबारे राज्यस्तरबाटै संसद र जनतासमक्ष स्पष्ट पार्नुपर्ने वा प्रधानमन्त्रीले जनतासमक्ष माफी माग्दै संसदको रेकर्डबाट सो अभिव्यक्ति हटाउनुपर्ने माग गरिएको छ ।
ज्ञापनपत्रमा सरकारले जनतामाथि अनावश्यक कर थोपरेको आरोप लगाइएको छ । जनताको जीवनयापनसँग सम्बन्धित मौलिक हकहरुमाथि कुठाराघात हुनेगरी सरकारले आर्थिक वर्ष २०८३र०८४ को बजेट वक्तव्यमार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर जनतामाथि जबरजस्ती लादिएको आरोप लगाइएको छ । सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको अतिरिक्त कर, शुल्क अविलम्ब हटाउन र सामुदायिक विद्यालय र सरकारी अस्पतालको स्तर वृद्धि गरी गरिब निमुखा जनतालाई गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवाको सुनिश्चित गर्न माग गरिएको छ ।
यस्तै, भूमि ऐन २०२१ र वन ऐन २०७६ मा व्यवस्था भएका कानुनका अव्यवहारिक प्रावधानका कारण विगत सरकारले सुकुम्बासी व्यवस्थापन गर्न चाहँदाचाहँदै पनि पूर्ण व्यवस्थापन हुन नसकेको उल्ल्ेख गर्दै सुकुम्बासी समाधान गरेरमात्र सार्वजनिक र सरकारी जग्गा संरक्षणतर्फ लाग्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।