
युरोपका दुई प्रमुख देश फ्रान्स र स्पेन अहिले दशकयताकै भीषण वन डढेलोसँग जुधिरहेका छन् । एकहप्ता अघिदेखि शुरु भएको डढेलो अत्यधिक गर्मी, सुख्खा मौसम र तीव्र हावाका कारण नियन्त्रण बाहिर गएको छ ।
डढेलोका कारण दुवै देशमा ३ लाख ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ भने हजारौँ अग्निनियन्त्रक, सुरक्षाकर्मी र सैनिक उद्धार तथा आगो नियन्त्रणमा खटिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
फ्रान्सको दक्षिणपश्चिम क्षेत्रमा मात्रै अहिलेसम्म ४२ हजार हेक्टरभन्दा बढी वन क्षेत्र जलेको छ, जुन दोस्रो विश्वयुद्धपछि देखिएको सबैभन्दा ठूलो वन डढेलोमध्ये एक मानिएको छ । समुद्री तटीय शहर पोर्जमा मात्रै १५० भन्दा बढी घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।
स्पेनमा पनि डढेलोको संकट गम्भीर बनेको छ । अहिलेसम्म ७७ हजार हेक्टरभन्दा बढी क्षेत्र डढेलोबाट प्रभावित भएको छ भने डढेलोलाई पछिल्ला वर्षकै सबैभन्दा ठूलो आगलागी मानिएको छ ।
स्पेनमा एकजनाको ज्यान गएको पुष्टि भएको छ भने फ्रान्समा यसअघि आगो निभाउने क्रममा दुई अग्निनियन्त्रकको ज्यान गएको छ । डढेलो नियन्त्रणका लागि फ्रान्सको गिरोन्द क्षेत्रमा दुई हजार पाँच सय अग्निनियन्त्रक, एक हजार पाँच सय सैनिक, झण्डै एक हजार दुई सय प्रहरी परिचालन गरिएको छ ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले प्रभावित क्षेत्रको पुनर्निर्माणमा सरकारले आवश्यक समयसम्म साथ दिने प्रतिबद्धता जनाउनु भएको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले केही घण्टा अझै चुनौतीपूर्ण रहने चेतावनी दिँदै जलवायु संकटको सामना गर्न दीर्घकालीन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनु भएको छ ।
विज्ञहरूले जलवायु परिवर्तनका कारण बढ्दो अत्यधिक तापक्रम, लामो खडेरी र सुख्खा वनस्पतिले युरोपमा यस्ता विनाशकारी डढेलोका घटना लगातार बढ्दै गएको चेतावनी दिएका छन् ।