
काठमाण्डौ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले यही साउन २९ देखि ३१ सम्म काठमाण्डौमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णयसहित ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ ।
पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठन गरिएको समितिले पार्टीको सांगठनिक सुदृढीकरण, नीतिगत बहस र आउँदो महाधिवेशनको तयारीमा केन्द्रित रहेर १६ वटा उपसमिति बनाएको छ । संस्थापन इतर समूहले आफ्नो संगठनात्मक गतिविधिलाई तीव्र बनाएसँगै पार्टी विभाजनको संघारमा पुगेको विश्लेषण गरिएको छ । काठमाण्डौको चुनदेवीमा रहेको सम्पर्क कार्यालयमा हिजो शनिबार पत्रकार सम्मेलन गरी प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले राष्ट्रिय भेलाको तयारीका लागि मूल आयोजक समितिसहित विभिन्न समिति गठन गरिएको जानकारी दिनुभयो ।
डा. कोइरालाले देशको विद्यमान राजनीतिक अस्थिरता र पार्टीभित्रको आन्तरिक चुनौतीलाई सम्बोधन गर्न राष्ट्रिय भेला आयोजना गर्न लागिएको दाबी गर्नुभएको छ । तत्कालीन पार्टी सभापति शेरबहादुर देउवा र तत्कालीन केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि गएको भदौ २३ र २४ को नवयुवा आन्दोलनकाक्रममा भएको आक्रमण र पार्टी कार्यालयमा भएको तोडफोडबाट उत्पन्न अवस्थाको स्मरणसहित उहाँले यस्तो संकटका बेला एकताको आवश्यकता भए पनि त्यसो हुन नसकेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा इतर समूहका अधिकांश नेताहरू सहभागी भए पनि १४ औं महाधिवेशनमा देउवासँग प्रतिष्पर्धा गरेका नेता डा. शेखर कोइराला भने अनुपस्थित हुनुभयो । यो समूहले ४४ औं बीपी स्मृति दिवसको अवसर पारेर गएको साउन ६ मा नै राष्ट्रिय भेलाको घोषणा गरेको थियो । योसँगै २००७ सालको क्रान्तिदेखि २०६२ /६३ को जनआन्दोलनसम्म बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको वैचारिक तथा साङ्गठनिक जगमा उभिएको नेपाली कांग्रेस इतिहासकै गम्भीर मोडमा पुगेको छ । आउँदो मङ्सिरमा १५ औँ केन्द्रीय महाधिवेशन गर्ने निर्णय भए पनि विशेष महाधिवेशनपछि चुलिएको आन्तरिक द्वन्द्व ६ महिना बित्दा समेत टुङ्गोमा पुग्न सकेको छैन ।
काठमाण्डौमा भएको दोस्रो विशेष महाधिवेशनबाट नेतृत्वमा आएका सभापति गगनकुमार थापा र संस्थापन इतर पक्षबीचको दूरी बढ्दै जाँदा पार्टी औपचारिक विभाजनतर्फ उन्मुख भएको सन्देश प्रवाह भएको छ । विशेष महाधिवेशनपछि संस्थापन इतरपक्ष सर्वोच्च अदालत र निर्वाचन आयोगसम्म पुग्दा पनि मागले सार्थकता नपाएपछि अहिले राष्ट्रिय भेलामार्फत नयाँ दल गठनको विकल्पसम्म पुग्ने रणनीतिमा छ ।
पार्टी एकताका लागि निरन्तर प्रयास र लचकता अपनाउँदा पनि संस्थापन पक्षबाट कुनै सार्थक पहल नभएको इतर पक्षको ठहर छ । तर सभापति थापाले राजनीतिलाई सत्ता र शक्तिको संकुचित घेराबाट बाहिर निकालेर सांगठनिक सुदृढीकरण र नीतिगत स्पष्टतालाई सँगसँगै लैजानुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।