
हेटौंडा। सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने उद्देश्यले मकवानपुरमा शनिबार बृहत् सामाजिक सद्भाव र्याली सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वय तथा जिल्लास्तरीय सर्वपक्षीय बैठकको निर्णयअनुसार आयोजित र्यालीमा राजनीतिक दलका प्रतिनिधि, उद्योगी–व्यापारी, विभिन्न संघसंस्था, नागरिक समाज, सुरक्षाकर्मी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
हेटौंडाको हुप्राचौरबाट अपराह्न सुरु भएको र्याली मेनरोड, स्कुलरोड, बुद्धचोक, मकवानपुर उद्योग वाणिज्य संघ हुँदै संगमचोक पुगेको थियो। विभिन्न समुदायबीच आपसी सद्भाव, सामाजिक एकता र धार्मिक सहिष्णुताको सन्देश बोकेर निकालिएको र्याली संगमचोकमा आयोजित कोणसभामा परिणत भएको थियो।
कोणसभालाई सम्बोधन गर्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुक भएकाले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सबैले साझा जिम्मेवारीका रूपमा संरक्षण गर्नुपर्ने बताए। पछिल्ला दिनहरूमा देशका विभिन्न स्थानमा देखिएका घटनाबाट कोही पनि उत्तेजित वा भ्रमित नहुन आग्रह गर्दै उनले कानुन हातमा नलिन, अफवाह र मिथ्या सूचनाको पछि नलाग्न तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई आह्वान गरे।
उनले सामाजिक सञ्जालमार्फत भ्रामक, उत्तेजनात्मक वा सद्भाव खलबल्याउने सामग्री प्रसारण नगर्न अनुरोध गर्दै यस्ता गतिविधिमा संलग्नलाई कानुनबमोजिम कारबाही गरिने स्पष्ट पारे। कुनै पनि शंकास्पद वा उच्छृंखल गतिविधिको जानकारी प्राप्त भएमा तत्काल सुरक्षा निकायलाई सूचित गर्नसमेत उनले आग्रह गरे।
देशका विभिन्न स्थानमा भएका पछिल्ला घटनापछि सामाजिक तथा धार्मिक सद्भावलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको र्यालीले समाजमा शान्ति, सहिष्णुता, आपसी विश्वास र एकताको सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।