
काठमाण्डौ । आज काठमाण्डौ उपत्यकासहित ३० जिल्लामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डौ, भक्तपुर, ललितपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, लमजुङ, कास्की, म्याग्दी, बाग्लुङमा आकस्मिक बाढीको मध्यम जोखिम छ ।
यसै गरी ताप्लेजुङ, इलाम, झापा, धनकुटा, भोजपुर, मोरङ, सुनसरी, बाँके, संखुवासभा, सोलुखुम्बु, उदयपुर, जाजरकोट, रुकुम पूर्व, रुकुम पश्चिम, सुर्खेत, दार्चुला, बैतडी, अछाम, डोटी र आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
विशेष गरी नदी तटीय क्षेत्र, पहिरोको जोखिम रहेका ठाउँ अनि यात्राका बेला चनाखो रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेग तथा लुम्बिनी प्रदेशको पहाडी भेगका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ ।
राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेग तथा मधेश प्रदेशको एक/दुई ठाउँमा ठूलो सम्भावना रहेको महाशाखाले जनाएको छ । अरू ठाउँका हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।