
हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका–४ मा मनहरी खोला तर्ने क्रममा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् भने अर्का एक जना सकुशल जोगिएका छन्।
प्रहरीका अनुसार साउन २० गते राति करिब ११:०० बजे कैलाश गाउँपालिका–४ सिसैटा निवासी २५ वर्षीय प्रकाश तामाङ र सोही स्थानका ३२ वर्षीय अशोक प्रजा कालिकाटारबाट देउतीस्थित आफ्नै घर फर्किने क्रममा मनहरी खोला तर्दै थिए। सोही क्रममा दुवै जनालाई खोलाले बगाएको थियो। प्रकाश तामाङ भने सकुशल बाहिर निस्कन सफल भएका छन् भने अशोक प्रजा खोलाले बगाई बेपत्ता भएका छन्।
घटनाबारे साउन २१ गते बिहान करिब ९:१५ बजे प्रहरी चौकी भार्ता, मकवानपुरमा सूचना प्राप्त भएपछि प्रहरी चौकी भार्ता, प्रहरी चौकी चैनपुर तथा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ। स्थानीयवासीसँग समन्वय गरी बेपत्ता अशोक प्रजाको खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले यस्ता घटना हुन नदिन वर्षायाममा नदी तथा खोलानाला तर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। पानीको बहावको अवस्था राम्रोसँग मूल्याङ्कन गरेर मात्र खोला तर्न, अँध्यारो समयमा खोलानालाको बाटो सकेसम्म प्रयोग नगर्न तथा मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।