
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा मनहरी खोलाले बगाएर बेपत्ता भएका कैलाश गाउँपालिका–४, सिसैटाका ३२ वर्षीय अशोक प्रजा मृत भेटिएका छन् । बुधबार राती ११ बजेको समयमा मनहरी खोलाले बगाएका अशोक शुक्रबार बिहान मनहरी पुल नजिकै मृत भेटिएका हुन् ।
अशोक प्रजासँगै मनहरी खोलाले बगाएका २५ वर्षीय प्रकाश तामाङ भने खोलाबाट सकुशल निक्लन सफल भएका थिए । बुधबार राती कालिकाटारबाट घर फर्कँदै गरेका अशोक र प्रकाशलाई मनहरी खोला तर्ने क्रममा बगाएको थियो ।
मनसुनका कारण खोलानालामा पानीको बहाव बढेकाले नदी तथा खोलानाला तर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। पानीको बहावको अवस्था राम्रोसँग मूल्याङ्कन गरेर मात्र खोला तर्न, अँध्यारो समयमा खोलानालाको बाटो सकेसम्म प्रयोग नगर्न तथा मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।
।