
काठमाडौं । रुस र चीनसँग बढ्दो रणनीतिक तनावबीच अमेरिकाले आफ्नो परमाणु नीतिमा परिवर्तन गर्ने तयारी गरेको छ ।
अमेरिकी सञ्चारमाध्यम एनबीसी न्युजका अनुसार, पेन्टागनले यस्तो रणनीति तयार गरिरहेको छ, जसमा ठूला आणविक हतियारसँगै कम क्षमताका ट्याक्टिकल न्यूक्लियर हतियार प्रयोग गर्ने विकल्प पनि समावेश हुनेछ ।
आवश्यक परे यस्ता हतियार शत्रुको सैन्य अखडा, एयरबेस, मिसाइल प्रक्षेपण स्थल वा सीमित युद्धक्षेत्रमा रहेका अन्य सैन्य लक्ष्यविरुद्ध प्रयोग गर्न सकिने अवधारणा अघि सारिएको छ ।
पेन्टागनका नीति प्रमुख एल्ब्रिज कोल्बीले नयाँ परमाणु रणनीतिमा काम गरिरहेका रिपोर्टमा उल्लेख छ । उनका अनुसार हाल अमेरिकी राष्ट्रपतिसँग आणविक आक्रमणका लागि अथवा ठूलो स्तरको आणविक हमला गर्ने वा आणविक जवाफी कारबाही नगर्ने दुई विकल्प मात्र रहेको देखिन्छ । नयाँ रणनीतिले यी दुईबीचको विकल्प खोज्न लागेको हो, जसअन्तर्गत आवश्यक पर्दा कम क्षमताका आणविक हतियार प्रयोग गरेर सीमित जवाफ दिन सकिनेछ ।
‘ट्याक्टिकल न्यूक्लियर हतियार’ भनेको के हो ?
ट्याक्टिकल न्यूक्लियर हतियार तुलनात्मक रूपमा कम क्षमताका आणविक हतियार हुन् । यिनलाई पूरै सहर वा ठूलो भूभाग ध्वस्त पार्नुभन्दा युद्धको मैदानमा रहेका सीमित सैन्य लक्ष्यविरुद्ध प्रयोग गर्ने उद्देश्यले विकास गरिएको हुन्छ । यस्ता लक्ष्यमा सैन्य अखडा, एयरबेस, मिसाइल प्रक्षेपण स्थल, ट्यांक फर्मेसन वा सैनिकहरूको तैनाथी पर्न सक्छ ।
सामान्यतया ट्याक्टिकल आणविक हतियारलाई कम क्षमताका र छोटो वा मध्यम दूरीका प्रणालीका रूपमा बुझिन्छ । यसको विपरीत स्ट्राटेजिक आणविक हतियार तुलनात्मक रूपमा धेरै शक्तिशाली हुन्छन् र लामो दूरीका लक्ष्यमा प्रहार गर्न प्रयोग गरिन्छ । अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल (आईसीबीएम), पनडुब्बीबाट प्रक्षेपण गरिने ब्यालिस्टिक मिसाइल तथा भारी बमवर्षक विमान स्ट्राटेजिक आणविक हतियारका प्रमुख माध्यम हुन् ।
यद्यपि ‘ट्याक्टिकल’ र ‘स्ट्राटेजिक’ भन्ने वर्गीकरण पूर्णतः एउटै निश्चित विस्फोटक क्षमतामा आधारित हुँदैन । हतियारको उद्देश्य, प्रयोगको तरिका, दूरी र सैन्य भूमिकाका आधारमा पनि यसको वर्गीकरण गरिन्छ ।
अमेरिकाले परमाणु नीति किन परिवर्तन गर्दै छ ?
भविष्यमा रुस वा चीनसँग प्रत्यक्ष सैन्य द्वन्द्व भएमा केवल अत्यन्त शक्तिशाली रणनीतिक आणविक हतियारको विकल्प पर्याप्त नहुन सक्ने अमेरिकी रणनीतिकारहरूको बुझाइ छ । त्यसैले कम क्षमताका आणविक हतियारलाई पनि सैन्य योजनामा समावेश गरेर सीमित आणविक जवाफ दिने क्षमता विकास गर्न खोजिएको हो ।
यसको उद्देश्य सम्भावित शत्रुलाई अमेरिकी आणविक प्रतिक्रिया केवल पूर्णस्तरको आणविक युद्धमा मात्र सीमित हुँदैन भन्ने सन्देश दिनु पनि हो । यस्तो क्षमताले प्रतिरोधात्मक प्रभाव बढाउने अमेरिकी रणनीतिकारहरूको तर्क छ ।
तर, आलोचकहरूका अनुसार कम क्षमताका आणविक हतियार प्रयोग गर्ने विकल्प सहज बनाइएमा तिनको प्रयोगको सम्भावना पनि बढ्न सक्छ । यसले परम्परागत सैन्य द्वन्द्वलाई आणविक युद्धमा रूपान्तरण गर्ने जोखिम बढाउन सक्छ । युद्धको अवस्थामा एउटा पक्षले सीमित आणविक हतियार प्रयोग गरेपछि अर्को पक्षले त्यसको जवाफ अझ शक्तिशाली हतियारबाट दिने सम्भावना रहन्छ ।
रुससँग सबैभन्दा ठूलो आणविक भण्डार
स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (एसआईपीआरआई) र फेडरेसन अफ अमेरिकन साइन्टिस्ट्स (एफएएस)का अनुमानअनुसार रुससँग विश्वकै सबैभन्दा ठूलो आणविक हतियार भण्डार छ ।
रुस र अमेरिकासँग मात्रै विश्वका कुल आणविक हतियारमध्ये करिब ८८ प्रतिशत रहेको अनुमान छ । चीनसँग पनि पछिल्ला वर्षहरूमा आणविक हतियारको संख्या तीव्र गतिमा बढिरहेको छ । यद्यपि, चीनको कुल भण्डार अझै अमेरिका र रुसको तुलनामा निकै कम छ ।
विश्वका अन्य आणविक शक्ति राष्ट्रमा फ्रान्स, बेलायत, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरिया पर्छन् । यी देशहरूको आणविक भण्डार अमेरिका र रुसको तुलनामा निकै सानो भए पनि तिनले आफ्नो राष्ट्रिय सुरक्षा र प्रतिरोधात्मक क्षमताका लागि आणविक हतियारलाई महत्त्वपूर्ण मान्दै आएका छन् ।
१९४५ पछि आणविक हतियारको प्रयोग किन भएन ?
दोस्रो विश्वयुद्धका क्रममा अमेरिकाले सन् १९४५ को अगस्टमा जापानका हिरोशिमा र नागासाकीमा परमाणु बम प्रहार गरेको थियो । त्यसपछि आणविक हतियारको विनाशकारी क्षमता विश्वसामु स्पष्ट भयो ।
त्यसयता आणविक शक्ति राष्ट्रहरूले आणविक हतियारलाई मुख्यतः युद्धमा प्रयोग गर्नेभन्दा पनि सम्भावित शत्रुलाई आक्रमणबाट रोक्ने अर्थात् ‘न्यूक्लियर डिटेरेन्स’को साधनका रूपमा प्रयोग गर्दै आएका छन् ।
आणविक हतियार भएका देशहरूबीच प्रत्यक्ष युद्ध भएमा दुवै पक्षले ठूलो क्षति व्यहोर्नुपर्ने सम्भावनाले यस्तो हतियार प्रयोग गर्नबाट रोक्ने विश्वास गरिन्छ ।
‘न्यूक्लियर डिटेरेन्स’ भनेको के हो ?
न्यूक्लियर डिटेरेन्स भनेको यदि कुनै देशले अर्को आणविक शक्ति राष्ट्रमाथि आणविक हमला गर्छ भने उसले पनि विनाशकारी जवाफी हमला सामना गर्नुपर्नेछ । यसै अवधारणासँग ‘म्युचुअली एस्योर्ड डिस्ट्रक्सन’ अर्थात् एमएडीको सिद्धान्त जोडिएको छ । यसको अर्थ दुवै पक्षसँग एकअर्कालाई लगभग पूर्ण रूपमा विनाश गर्न सक्ने क्षमता भएकाले पहिलो हमला गर्नु अत्यन्त जोखिमपूर्ण हुन्छ ।
यही पारस्परिक विनाशको डरले सन् १९४५ पछि प्रमुख आणविक शक्तिहरूलाई प्रत्यक्ष युद्धमा आणविक हतियार प्रयोग गर्नबाट रोक्दै आएको मानिन्छ ।
तर, कम क्षमताका आणविक हतियारलाई युद्धमैदानमा प्रयोग गर्न सकिने विकल्पलाई सामान्य सैन्य रणनीतिको हिस्सा बनाइएमा यही प्रतिरोधात्मक सन्तुलन कमजोर हुन सक्ने चिन्ता व्यक्त गरिएको छ । सानो आणविक प्रहारपछि त्यसको जवाफ क्रमशः ठूलो हुँदै जाँदा सीमित द्वन्द्व व्यापक आणविक युद्धमा परिणत हुन सक्छ ।
यसकारण अमेरिकाले कम क्षमताका आणविक हतियारलाई आफ्नो सैन्य रणनीतिमा थप महत्व दिने तयारी गरेको भए त्यसले केवल अमेरिकी परमाणु नीतिमा परिवर्तन मात्र होइन, विश्वव्यापी आणविक प्रतिरोधको सन्तुलन र भविष्यका युद्धहरूको स्वरूपमा समेत गम्भीर प्रभाव पार्न सक्नेछ ।