
काठमाण्डौ । कोशी र मधेश प्रदेशबाहेक देशका सबैजसो प्रदेशमा गएराति पानी परेको छ ।
यी क्षेत्रको विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएकोे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गएराति बागमतीसहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको धेरैजसो ठाउँमा पानी परेको हो । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै सुदूरपश्चिमको खप्तड क्षेत्रमा ४४.२ मिलिमिटर वर्षा मापन गरिएको छ ।
महाशाखाका अनुसार आज कर्णाली प्रदेशको पहाडी साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भागका एक / दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ । साथै भोलि पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागको एक / दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।