
हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्ति बदर गर्न माग गर्दै उच्च अदालत पाटन, हेटौँडा इजलासमा दायर दुईवटा रिटमाथि आज सुनुवाइ हुँदै छ । दुवै रिट न्यायाधीश बविता उप्रेतीको एकल इजलासमा पेसी तोकिएको छ ।
मुख्यमन्त्री नियुक्तिको प्रक्रिया संविधानविपरीत भएको दाबी गर्दै अधिवक्ता मोहनप्रसाद ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वाग्मती प्रदेशसभा संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले छुट्टाछुट्टै रिट दायर गरेका हुन् । दुवै रिट भदौ ५ गते दर्ता भएका थिए ।
रिटमा राप्रपा वाग्मती संसदीय दलका नेता उद्धव थापाले पार्टीको नीति, निर्णय र निर्देशनविपरीत मुख्यमन्त्री नियुक्तिका लागि समर्थन दिएको दाबी गरिएको छ । राप्रपाको केन्द्रीय नेतृत्वले उक्त समर्थन आधिकारिक नरहेको जानकारी प्रदेश प्रमुखको कार्यालयलाई गराइसकेको अवस्थामा समेत सोही समर्थनलाई आधार बनाएर मुख्यमन्त्री नियुक्त गरिएको भन्दै नियुक्ति बदरको माग गरिएको छ ।
रिटमा प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वाग्मती प्रदेशसभा, सभामुख, मुख्यमन्त्री किरण थापामगर, उद्धव थापा, नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलिया र नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता शालिकराम जम्कट्टेललाई विपक्षी बनाइएको छ ।
भदौ ४ गते थापा वागमतीको मुख्यमन्त्री नियुक्त भएका थिए । उनले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।