
हेटौंडा । हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शनिवार ११ औं संविधान दिवसको अवसरमा हेटौंडा –४ नम्बर वडा कार्यालयको आयोजनामा तेक्वान्दो प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापा मगरले खेलकुद क्षेत्रको विकास र खेलाडी उत्पादनका लागि संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले हरेक वर्ष बजेट विनियोजन गर्दै आएको बताए ।
खेलकुदका पूर्वाधार निर्माणसँगै विभिन्न खेलका प्रतियोगिता आयोजना तथा डोजाङ स्थापना गर्न सरकारले लगानी गरिरहेको उनको भनाइ छ ।
संघीयता कार्यान्वयनपछि स्थानीय तहले समेत आफ्नो क्षेत्रभित्र रहेका खेल र खेलाडीको विकासका लागि बजेट विनियोजन गर्दै आएको उनले बताए ।

प्रदेश सरकारले पनि बागमती प्रदेशका १३ जिल्ला र ११९ स्थानीय तहमा सम्भावनाका आधारमा खेलकुद क्षेत्रको विकासका लागि बजेट विनियोजन गरिरहेको मुख्यमन्त्री थापा मगरको भनाइ छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा टोलीलाई ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिने छ । । प्रतियोगितामा १४ वटा तेक्वान्दो डोजाङका करिब १६० जना जुनियर खेलाडी सहभागी भएका छन् । खेलाडीको प्रतिभा पहिचान, प्रोत्साहन तथा खेलकुदको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

यसैगरी, हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालय र नगरस्तरीय क्रिकेट व्यवस्थापन समिति हेटौंडा–४ को व्यवस्थापनमा नगरस्तरीय क्रिकेट प्रतियोगिता–२०८३ समेत आयोजना हुँदैछ । प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाबाट टोली सहभागी हुनेछन् भने प्रतियोगिताको प्राविधिक सहयोग मकवानपुर क्रिकेट संघ, हेटौंडाले गर्नेछ ।
मकवानपुर तेक्वान्दो डोजाङ हेटौंडा–४ का संयोजक निरु थापा मगरको सभाध्यक्षतामा भएको कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा , हेटौंडा – ४ का वडा अध्यक्ष नविन सिग्देल , जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष सानु लामा लगायतको उपस्थिती रहेको थियो ।