
हेटौँडा । नेकपा एमालेका सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतले राजनीतिक चेतना, सैद्धान्तिक तथा वैचारिक ज्ञान र संस्थागत अनुभवबिनाको नेतृत्वले छोटो समयमै देशलाई सही दिशामा अघि बढाउन नसक्ने बताउनुभएको छ ।
बुधबार हेटौँडा–५ स्थित एमाले पार्टी कार्यालयमा आयोजित बागमती प्रदेश कमिटीको समन्वय बैठक तथा सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै बस्नेतले राज्य सञ्चालनको जिम्मेवारी पाउने नेतृत्वमा राजनीतिक चेतनासँगै वैचारिक स्पष्टता र संस्थागत अनुभव आवश्यक रहेको बताउनुभयो ।

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको छ महिनामै देश कुन दिशातर्फ अघि बढिरहेको छ भन्ने विषय क्रमशः स्पष्ट हुँदै गएको दाबी गर्नुभयो ।
बस्नेतले विगतमा दुर्गा प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको दाबी गरेको विषयलाई सामाजिक सञ्जालमा ठूलो मुद्दाका रूपमा उठाइए पनि अहिले ‘ग्रे जोन’ को रिपोर्टमा उल्लेख भएका विषयबारे पर्याप्त बहस हुन नसकेको बताउनुभयो । उक्त रिपोर्टमा उल्लेखित विषयलाई जनतामाझ लैजानुपर्ने उहाँको भनाइ थियो ।
डिजिटल माध्यममा एमालेको सक्रियता बढाउनुपर्ने
सचिव बस्नेतले पछिल्लो समय डिजिटल प्लेटफर्महरू एमालेविरुद्ध प्रयोग भइरहेको दाबी गर्दै सामाजिक सञ्जालमा पार्टीविरुद्ध सञ्चालन भइरहेका अभियानको सामना गर्न पार्टीकै नेता तथा कार्यकर्ता डिजिटल माध्यममा सक्रिय हुनुपर्ने बताउनुभयो ।

उहाँले सामाजिक सञ्जाललाई छुट्टै जनशक्तिको जिम्मामा मात्र छाड्नुभन्दा नेता तथा कार्यकर्ताले नै पार्टीका नीति, धारणा र उपलब्धिबारे प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो ।
बस्नेतले पछिल्लो समय सामाजिक सञ्जालमा जनताले महँगी, विकास निर्माण र जनजीविकासँग सम्बन्धित विषयमा आफ्ना धारणा राख्न थालेको उल्लेख गर्दै पार्टीका नेता तथा कार्यकर्ताले डिजिटल माध्यमको महत्वलाई अझै पर्याप्त रूपमा बुझ्न नसकेको बताउनुभयो ।
पार्टी पुनर्गठन नेतृत्व परिवर्तनमा मात्र सीमित छैन
एमाले सचिव बस्नेतले पार्टी पुनर्गठनको प्रक्रिया नेतृत्व परिवर्तनमा मात्र सीमित नभएको स्पष्ट पार्नुभयो । संगठनात्मक संरचना, कार्यशैली, नयाँ पुस्ताको सहभागिता तथा डिजिटल माध्यममा पार्टीको प्रभाव विस्तारलाई समेत पुनर्गठनको प्रक्रियामा समेटिएको उहाँले बताउनुभयो ।

उहाँले पार्टीको आधिकारिक धारणा र सामाजिक सञ्जालमा व्यक्त हुने व्यक्तिगत अभिव्यक्तिलाई एउटै रूपमा बुझ्न नहुने धारणा राख्नुभयो ।
पार्टीभित्र विगतमा भएका कतिपय गतिविधिलाई तत्काल कारबाहीको विषय नबनाई सुधारको अवसर दिइएको उल्लेख गर्दै बस्नेतले आगामी दिनमा पार्टीको निर्णय, संगठन र संस्थागत प्रक्रियाविरुद्ध गतिविधि दोहोरिए सम्बन्धित निकायले आवश्यक कारबाही गर्ने चेतावनी दिनुभयो ।
उहाँले राष्ट्रियता, विकास, समृद्धि र लोकतन्त्रको सुदृढीकरणसँगै पछाडि परेका वर्ग तथा समुदायको हितमा एमालेले गर्दै आएका कामलाई प्रभावकारी रूपमा जनतामाझ पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
एमाले बागमती अध्यक्ष कैलाश ढुङ्गेलको अध्यक्षतामा भएको कार्यक्रममा एमाले मकवानपुरका इन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्यहरु एका लाल श्रेष्ठ, भारती पाठक, महेश कुमार बर्तौला, लेखा आयोग सदस्य नवीन सिग्देल, एमाले मकवानपुरका का.बा अध्यक्ष हिदम लामा लगाएत विभिन्न कमिटीका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।