
हेटौँडा । हेटौँडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देलले वडालाई विकासको केन्द्रका रूपमा स्थापित गर्ने गरी काम भइरहेको बताउनुभएको छ ।
उहाँले सार्थक र दिगो विकासका लागि भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण, भाषा, संस्कृति, पर्यटन, कृषि तथा उद्योग क्षेत्रको समानान्तर विकास आवश्यक रहेको बताउनुभयो । बुद्ध टोल विकास संस्थाको रजत जयन्ती तथा २५औँ साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष सिग्देलले पालिका र वडाको विशिष्टता तथा आवश्यकताका आधारमा विकासका योजना अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले व्यवस्थित सहर तथा बस्ती निर्माण, विद्यालय शिक्षाको गुणस्तर वृद्धि, वडावासीको स्वास्थ्य सेवामा सहज पहुँच, खेलकुदको प्रवर्द्धन र वडालाई हरियाली बनाउने कार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । त्यसैगरी भाषा तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन, महिला तथा युवाको सीप विकास र रोजगारी सिर्जनालाई समेत प्राथमिकता दिइएको उहाँको भनाइ थियो ।
वडामा अधुरा तथा अलपत्र रहेका सडक निर्माणका कामलाई अघि बढाउन पहल भइरहेको उल्लेख गर्दै अध्यक्ष सिग्देलले नयाँ विकासका योजनासमेत कार्यान्वयनको चरणमा रहेको बताउनुभयो ।
‘हामीले केवल एउटा वडा मात्रै बनाइरहेका छैनौँ, बागमती प्रदेशको राजधानी हेटौँडाको मुहार फेर्ने काम पनि गरिरहेका छौँ,’ उहाँले भन्नुभयो, ‘उपमहानगरपालिकाको केन्द्रमा रहेको यस वडालाई विकासको केन्द्रका रूपमा स्थापित गर्ने हाम्रो प्रयास हो ।’
टोल विकास संस्थाकी अध्यक्ष शान्ता थापाको अध्यक्षतामा सम्पन्न साधारणसभामा टोल विकास नगर समन्वय समितिका महासचिव शिवहरि दाहाल, समाजसेवी तथा शैक्षिक व्यक्तित्व कृष्णप्रसाद घिमिरे, संस्थाका पूर्वअध्यक्ष, सल्लाहकारलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा ज्येष्ठ नागरिक, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट ऋणी तथा संस्थाका पूर्वअध्यक्षहरूलाई सम्मान गरिएको संस्थाकी सचिव बबिता उदासले जानकारी दिनुभयो ।