
काठमाडौं । राजधानीको बाँसबारी क्षेत्रमा दिउँसै चोरी भएको छ। काठमाडौँ महानगरपालिका-३ बाँसबारीमा डेरा गरी बस्ने सीता रावलको कोठाबाट बिहीबार दिउँसो करिब ७ लाख २० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो।
कैलालीको गोदावारी नगरपालिका-२ स्थायी घर भएकी ३६ वर्षीया रावलको कोठामा कोही नभएको मौका छोपी चोरले धनमाल हात पारेको प्रहरीले जनाएको छ। रावलका अनुसार कोठाबाट नगद तथा बहुमूल्य गरगहना चोरी भएको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरीले घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको छ। चोरीमा संलग्न व्यक्ति हाल फरार रहेको र उनीहरूको व्यापक खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।
पछिल्लो समय काठमाडौँमा दिउँसोको समयमा घरमा कोही नभएको पारेर चोरी गर्ने गिरोह सक्रिय देखिएको छ।