
इनरुवा ।सुनसरीको दुहबी नगरपालिकामा कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री तथा कम्बाइन मिल वितरण गरेको छ ।
नगरपालिका क्षेत्रका किसानलाई कृषिमा यान्त्रिकीकरण र प्राङ्गारिक खेती प्रवद्र्धन गर्ने उद्देश्यले दुई वटा कम्बाइन मिल, तीन वटा २० एचपी क्षमताका पावर टेलर सहितका कृषि उपकरण वितरण गरेको हो ।
कम्बाइन मिलले धान, गहुँ, मकै तथा मसला लगायतका बालीको कुटानीपिसानी कार्यमा सहयोग पुग्ने बताइएको छ ।दुहबी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले कृषकहरूलाई उन्नत कृषि सहकारी संस्था दुहबी–१० को आयोजनामा सम्पन्न कार्यक्रमका बीच ५० प्रतिशत अनुदानमा करिब दुई वटा कम्बाइन मिल वितरण गर्नुभएको हो ।
गच्छदारका अनुसार कार्यक्रम अन्तर्गत तीन वटा २० एचपी क्षमताका पावर टेलर, छ वटा समरसियल पम्प, १५ वटा स्प्रे मेसिन, १७५ किलोग्राम डेलिभरी पाइप, दुई हजार किलोग्राम प्राङ्गारिक मल, कालो लुनिया जातको रैथाने धानको बीउ, एक जना किसानलाई बोरिङ तथा २० वटा त्रिपाल समेत वितरण गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै दुहबी नगरपालिकाका नगर गच्छदारले किसानहरू नगरपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो ।आफू पनि किसानको छोरा भएकाले कृषकका समस्या र आवश्यकताबारे जानकार रहेको उल्लेख गर्नुहुदै किसानको हितका लागि नगरपालिकाले निरन्तर सहयोग गर्दै आएको बताउनुभयो ।
नगरपालिकाको करिब आठ लाख रुपियाँ र कृषकहरूको आठ लाख रुपियाँ गरी कुल १६ लाख रुपियाँ बराबरका कृषि सामग्री वितरण गरिएको थियो ।उहाँले कृषि क्षेत्रले नेपालको अर्थतन्त्रमा करिब ३० प्रतिशत योगदान पुर्याएको उल्लेख गर्नुहुँदै दुहबीलाई विषादीरहित खेतीतर्फ उन्मुख गराउने योजनामा रहेको जानकारी दिनुभयो ।
उहाँले प्रदेश सरकारसँगको समन्वयमा करिब ५६ करोड रुपियाँ लागतमा एग्रो–प्रोसेसिङ उद्योग स्थापना गर्ने योजना समेत रहेको बताउनुभयो । उक्त उद्योग मार्फत कृषि उत्पादनको प्रशोधन, भण्डारण तथा मूल्य अभिवृद्धि गरिने जानकारी दिनुभएको छ।
कार्यक्रममा नगर उपप्रमुख मेनुका पोखरेल खतिवडा, वडा अध्यक्ष विजयकुमार चौधरी, समाजसेवी सर्वेलाल खाँ थारु, शोभालाल चौधरी, रघुनन्दन खा थारु, उन्नत कृषि सहकारी संस्थाका अध्यक्ष लद्दुराम माझी, उपाध्यक्ष अनिल विश्वास, कृषि शाखा प्रमुख अजय गौतम लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी कृषकहरूले यस्ता अनुदानमूलक कार्यक्रमले कृषि उत्पादन वृद्धि, यान्त्रिकीकरण तथा प्राङ्गारिक खेती प्रवद्र्धनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।