
काठमाडौं । एर्लिङ हालान्डका लागि शनिबार हुने विश्वकप क्वार्टरफाइनल केवल अर्को खेल होइन । यो उनको जन्मभूमि इंग्ल्यान्डविरुद्ध आफ्नै देश नर्वेका लागि इतिहास रच्ने अवसर पनि हो ।
इंग्ल्यान्डको लिड्समा जन्मिएका हालान्डले चाहेको भए इंग्ल्यान्डबाट खेल्न सक्थे । तर उनले सधैं आफ्नो पहिचान नर्वेसँग जोडिएको बताए र अन्तर्राष्ट्रिय करिअरका लागि त्यही देश रोजे ।
त्यो निर्णयले उनलाई वर्षौंसम्म विश्वकपबाट टाढा राख्ने जोखिम थियो । किनभने नर्वे सन् १९९८ पछि विश्वकपमा छनोट हुन सकेको थिएन ।
जतिबेला नर्वेले पछिल्लोपटक विश्वकप खेलेको थियो, हालान्ड जन्मिएकै थिएनन् ।
तर २८ वर्षको लामो प्रतीक्षाको अन्त्य गराउँदै हालान्डले यसपटक नर्वेलाई विश्वकपको क्वार्टरफाइनलसम्म पुर्याएका छन् । अब सेमिफाइनल पुग्न उनको बाटोमा उभिएको टोली भने जन्मिएको देश इंग्ल्यान्ड हो ।
लिड्समा जन्म, नर्वेप्रति अटल निष्ठा
सन् २००० मा इंग्ल्यान्डको लिड्समा जन्मिएका हालान्डका पिता आल्फ–इंगे हालान्ड त्यतिबेला इंग्लिस क्लबबाट खेलिरहेका थिए । तीन वर्षपछि परिवार नर्वेको ब्रिन सहर फर्कियो र त्यहीँबाट उनको फुटबल यात्रा सुरु भयो ।
ब्रिनको एकेडेमीदेखि मोल्डे, रेड बुल साल्जबर्ग, बोरुसिया डर्टमन्ड हुँदै उनी म्यानचेस्टर सिटी पुगे । क्लब फुटबलमा सबै प्रमुख उपाधि जितिसकेका हालान्ड अहिले आफ्नो देशलाई पनि विश्व फुटबलको उचाइमा पुर्याउने अभियानमा छन् ।
पूर्व इंग्ल्यान्ड प्रशिक्षक ग्यारेथ साउथगेटले केही वर्षअघि नै हालान्ड इंग्ल्यान्डबाट खेल्ने सम्भावना नरहेको बताएका थिए । ‘उनी आफू कुन देशबाट खेल्न चाहन्छन् भन्ने विषयमा सधैं स्पष्ट थिए । उनी नर्वेकै प्रतिनिधित्व गर्न चाहन्थे र त्यसको सम्मान गर्नुपर्छ’ साउथगेटले भनेका थिए ।
२८ वर्षको प्रतीक्षाको अन्त्य
नर्वेले सन् १९९८ पछि पहिलो पटक विश्वकप खेलेको हो । त्यसयता मोर्टेन गाम्स्ट पेडर्सेन, जोन क्यारु, जोन आर्ने रिइसेजस्ता धेरै प्रतिभाशाली खेलाडी विश्वकप खेल्ने सपना पूरा गर्न सकेनन् ।
तर यसपटकको पुस्ताले त्यो अभिशाप तोडेको छ ।
विश्वकप छनोटमा आठ खेलमा १६ गोल गरेका हालान्डले मुख्य प्रतियोगितामा पनि चार खेलमा सात गोल गरिसकेका छन् । अन्तिम १६ मा पाँच पटकको विश्वविजेता ब्राजिलविरुद्ध दुई गोल गर्दै उनले नर्वेलाई ऐतिहासिक जित दिलाएका थिए ।
हालान्ड मात्र होइन, सुनौलो पुस्ता पनि
नर्वेको सफलतालाई केवल हालान्डको प्रदर्शनले मात्र व्याख्या गर्न सकिँदैन । प्रिमियर लिग क्लब आर्सनलको कप्तानी पनि गर्ने मार्टिन ओडेगार्ड मिडफिल्डसँगै नर्वेको टोलीकै नेतृत्व गरिरहेका छन् भने अलेक्जेन्डर सोर्लोथ, योर्गेन स्ट्रान्ड लार्सेन, ओस्कार बोब, सान्देर बेर्गे, प्याट्रिक बेर्ग र एन्टोनियो नुसाले पनि उत्कृष्ट प्रदर्शन गरेका छन् ।
नर्वेली फुटबल पत्रकार आन्द्रेयास कोर्सुन्डका अनुसार यो टोली बेल्जियमको ‘गोल्डेन जेनेरेसन’ जस्तै प्रतिभाले भरिएको पुस्ता हो ।
विश्वव्यापी सुपरस्टार, तर गाउँ नबिर्सने खेलाडी
६ फिट ५ इन्च अग्ला हालान्ड अहिले विश्व फुटबलकै सबैभन्दा चर्चित खेलाडीमध्ये एक हुन् । तर उनी अझै पनि आफ्नो सानो जन्मथलो ब्रिन नियमित पुग्ने गर्छन् ।
उनी नर्वेमा खेती गर्ने सपना देख्छन् । ओस्लोमा सामान्य मानिसझैं हिँडडुल गर्छन् । विश्वकपमा ब्राजिललाई हराएपछि टोलीसँग ‘भाइकिङ रो’ मनाएर उनले आफ्नो सांस्कृतिक पहिचानप्रतिको गर्व पनि देखाएका थिए ।
उनको राष्ट्रिय टोलीको जर्सीमा ‘ब्राउट हालान्ड’ लेखिएको हुन्छ । ‘ब्राउट’ उनकी आमाको थर हो, जुन नर्वेली परम्पराअनुसार प्रयोग गरिएको हो ।
कोर्सुन्ड भन्छन्, ‘हालान्ड नर्वेका लागि सबैथोक हुन्। ५५ लाख जनसंख्या भएको देशबाट विश्वकै उत्कृष्ट खेलाडीमध्ये एक जन्मनु आफैंमा ठूलो गर्वको विषय हो ।’
विश्वकपमा नयाँ इतिहास लेख्ने लक्ष्य
हालान्ड अहिले विश्वकप गोल्डेन बुटको दौडमा पनि छन् । लियोनेल मेसी आठ गोलसहित शीर्ष स्थानमा छन् भने हालान्ड र केलियन एमबाप्पे सात–सात गोलसहित पछ्याइरहेका छन्। ह्यारी केनको नाममा छ गोल छ।
अब उनको अर्को चुनौती इंग्ल्यान्ड हो। जन्मिएको देशविरुद्ध खेल्दै उनले नर्वेलाई पहिलो पटक विश्वकपको सेमिफाइनल पुर्याउने लक्ष्य लिएका छन्।
विश्व फुटबलका नयाँ महाताराका रूपमा स्थापित भइसकेका हालान्डका लागि यो खेल केवल सेमिफाइनल पुग्ने अवसर मात्र होइन, आफ्नो करिअरको सबैभन्दा भावनात्मक रात पनि बन्न सक्छ।