
काठमाडौं । नेपाल पत्रकार महासंघले विभिन्न सञ्चारमाध्यमका कार्यालयको गेटअगाडि शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरी पत्रकारको आवतजावतमा अवरोध तथा आतंक सिर्जना गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सोमबार जारी प्रेस विज्ञप्तिमा महासंघले बिहान ७ बजेदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमै सवारीसाधन पार्किङ गरिएकाले पत्रकारको आवतजावतमा समस्या सिर्जना भएको उल्लेख गरेको छ।
महासंघले उक्त अवरोध तत्काल हटाई सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। साथै, सञ्चारमाध्यम र पत्रकारको अधिकारको प्रयोगमा अवरोध पुर्याउने यस घटनाको तत्काल छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
विज्ञप्तिमा अवरोध हटाउन सुरक्षा निकायसँग समन्वय भइरहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षित रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न सम्बन्धित सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरिएको छ।
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा सञ्चारमाध्यममाथिको कुनै पनि प्रकारको दबाब वा अवरोध प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको उल्लेख गर्दै यस्ता गतिविधि दोहोरिन नदिन प्रभावकारी कदम चाल्न माग गरिएको छ।
