
हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पत्रकारिताले गर्ने आलोचना लोकतन्त्रको सुन्दर पक्ष भएको बताउनुभएको छ । स्वतन्त्र प्रेसविना लोकतन्त्र बलियो हुन नसक्ने उल्लेख गर्दै उहाँले प्रेस स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाको महत्वपूर्ण आधार भएको बताउनुभयो ।
शनिबार प्रेस चौतारी नेपाल मकवानपुरले हेटौंडामा आयोजना गरेको चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रदेश प्रमुख देवकोटाले पत्रकारिताले समाचार सम्प्रेषण गर्ने काममा मात्र सीमित नभई समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।
‘स्वतन्त्र प्रेसविना लोकतन्त्र बलियो हुन सक्दैन,’ उहाँले भन्नुभयो, ‘प्रेस स्वतन्त्र भएमा मात्र मुलुकमा लोकतान्त्रिक व्यवस्था सुदृढ हुनेछ ।’

पत्रकारिता लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र समाजमा सकारात्मक परिवर्तन ल्याउने महत्वपूर्ण माध्यम भएको उहाँको भनाइ थियो । सञ्चारमाध्यम राज्य र नागरिकबीचको महत्वपूर्ण कडी भएको उल्लेख गर्दै उहाँले समाजका विकृति र विसंगतिविरुद्ध आवाज उठाउन तथा राजनीतिक वा व्यक्तिगत आग्रहभन्दा माथि उठेर सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गर्नुभयो ।
सूचना प्रविधिको तीव्र विकाससँगै पत्रकारितामा चुनौतीसमेत थपिएको बताउँदै प्रदेश प्रमुख देवकोटाले पत्रकारको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्नु राज्यको दायित्व भएको स्पष्ट पार्नुभयो । श्रमजीवी पत्रकारको हितका लागि सम्बन्धित संस्थाहरू पनि क्रियाशील हुनुपर्ने उहाँको भनाइ थियो ।
देश राजनीतिक, आर्थिक तथा सामाजिक रूपान्तरणको चरणमा रहेको उल्लेख गर्दै उहाँले सुशासन, समृद्धि र जनताका आकांक्षा पूरा गर्न राज्य, राजनीतिक दल तथा सञ्चारमाध्यमबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज पुष्पराज अधिकारीले पछिल्लो समय राज्यका तर्फबाट पत्रकार तथा सञ्चारमाध्यममाथि भइरहेका हस्तक्षेपप्रति चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, सञ्चारगृहमा प्रहरी प्रवेश गर्ने, समाचारको स्रोत खुलाउन दबाब दिने तथा आलोचनात्मक समाचार रोक्ने प्रयास प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताउनुभयो ।
‘सरकार आलोचनाभन्दा माथि हुँदैन । सत्तामा पुग्ने जोसुकै होस्, उसले नागरिकका प्रश्नको जवाफ दिनुपर्छ । पत्रकारले प्रश्न सोधेकै कारण राज्यको निशानामा पर्नुपर्ने अवस्था लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण हो,’ अधिकारीले भन्नुभयो ।
सरकारले सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने नभई स्वतन्त्र रूपमा काम गर्ने वातावरण निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो । प्रेस स्वतन्त्रता, विचार तथा अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको हक संविधानले सुनिश्चित गरेको मौलिक अधिकार भएकाले त्यसको संरक्षण गर्नु राज्यको दायित्व भएको उहाँले बताउनुभयो ।
प्रेस चौतारीमा आबद्ध पत्रकार भए पनि प्रेस स्वतन्त्रताको सवालमा संगठनको आवाज कुनै राजनीतिक दलको सीमाभित्र कैद हुन नहुने उल्लेख गर्दै अधिकारीले पत्रकारको पेसागत सुरक्षा, श्रमजीवी पत्रकारको हकहित र स्वतन्त्र पत्रकारिताका पक्षमा प्रेस चौतारी सधैँ उभिनुपर्ने बताउनुभयो ।
उहाँले मकवानपुरको पत्रकारितालाई अझ व्यावसायिक, मर्यादित र निर्भीक बनाउन सबै पत्रकारबीच एकता र सहकार्य आवश्यक रहेको पनि बताउनुभयो ।
कार्यक्रममा पत्रकार, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।


