Alag Dhar

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

मकवानपुर । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि सुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी आठ टोलीमध्ये साविक उपविजेता सुदूरपश्चिम रोयल्सको दबदबा कायमै छ ।

लिगमा हालसम्म १९ खेल सम्पन्न हुँदा सुदूरपश्चिम मात्रै प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । सुदूरपश्चिम दुई खेल अगावै अपराजित रही पाँच खेल जितेर प्लेअफमा सुरक्षित भएको हो । सुदूरपश्चिम अहिले १० अङ्क जोडेर शीर्ष स्थानमा छ ।

अब सुदूरपश्चिमले विराटनगर किंग्स र चितवन राइनोजससँग खेल्न बाँकी छ । बाँकी रहेका दुई खेल पनि जितेर सुदूरपश्चिम पहिलो क्यालिफायरमा पुग्ने लक्ष्यमा छ ।

अङ्कतालिकाको दोस्रो स्थानमा ६ खेलमा चार खेल जितेको काठमान्डू गोर्खाज र तेस्रो स्थानमा पाँच खेलबाट आठ अङ्क नै जोडेको विराटनगर रहेको छ । यी दुवै टोली प्लेअफ नजिक छन् ।

चौथो स्थानमा चितवन राइनोज रहेको छ । चार खेलबाट चार अङ्क जोडेको चितवन पनि प्लेअफको दौडमा छ । पाँच खेलबाट चार अङ्क जोडेको लुम्बिनी लायन्स पाचौँ, पाँच खेलबाट एक खेल मात्रै जितेको कर्णाली याक्स छैटौँ, चार खेलमा दुई अङ्क मात्रै रहेको पोखरा एभेन्जर्स सातौँ र चार खेलमा अङ्कविहीन रहेको जनकपुर बोल्टस पुछारमा छ ।

पाँच खेलमा नायक बने पाँच फरक खेलाडी

सुदूरपश्चिमको अर्को विशेषता भनेको कुनै एक खेलाडी तथा विदेशी खेलाडीको भरमा मात्र खेलेको छैन । लगातार पाँच खेल जित्दा सुदूरपश्चिमका फरक फरक खेलाडी नायक बन्दै ‘प्लेयर अफ दी म्याच’ भएका छन् । जसमा तीन नेपाली र दुई विदेशी खेलाडीले उत्कृष्ट खेलेका थिए ।

उत्कृष्ट खेल्दै टोलीलाई जिताउनेमा नेपाली खेलाडीमा स्वयं कप्तानसमेत रहेका दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र इशान पाण्डेय हुनुहुन्छ । यस्तै विदेशी खेलाडीमा हर्मित सिंह र जोस ब्राउन रहनुभएको छ ।

सुदूरपश्चिमको पहिलो जितमा हर्मित सिंहले अलराउन्ड प्रदर्शन गर्नुभयो । काठमान्डुलाई २९ रनले हराएको यो खेलमा हर्मितले विस्फोटक पारि खेल्दै २० बलमा दुई चौका र ६ छक्कासहित ५३ रन बनाउनुभएको थियो । साथै उहाँले बलिङमा पनि महत्वपूर्ण दुई विकेट लिनुभएको थियो ।

दोस्रो खेलका नायक बन्नुभएका जोस ब्राउनले ३५ बलमा ६८ रनको उत्कृष्ट पारि खेल्नुभयो । पोखराविरुद्धको यो खेल सुदूरपश्चिमले १८ रनले जितेको थियो ।

तेस्रो जित निकाल्ने क्रममा कप्तान दीपेन्द्रसिंह ऐरी चम्किनुभयो । कर्णालीविरुद्धको उक्त खेलमा ऐरीले ब्याटबाट ३९ रन बटुले भने बलिङतर्फ चार विकेट लिनुभयो ।

चौथो जितमा पारम्भिक ब्याटर विनोद भण्डारी ‘म्याच विनर’ बन्नुभयो । लुम्बिनीलाई पराजित गरेको यो खेलमा भण्डारीले अविजित ६९ रन जोड्नुभएको थियो ।

यस्तै साविक विजेता जनकपुरलाई हराएर पाचौँ जित निकालेको खेलमा इशान पाण्डेले उत्कृष्ट खेल्नुभयो । उहाँले ५६ रन बनाउनुभएको थियो । सुदूरपश्चिमले सबैभन्दा बढी नौ स्थानीय खेलाडीलाई टोलीमा राखेको छ ।

जसमा कप्तान दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, टेक रावत, नरेन साउद, दीपेन्द्र थापा र हिक्मत महरा रहनुभएको छ ।

अर्धशतकमा बनाउने सुदूरपश्चिमकै खेलाडी अगाडि

प्रतियोगितामा हालसम्म १७ खेलाडीले अर्धशतक हिर्काएकामा सुदूरपश्चिमकै खेलाडी अग्रस्थानमा छन् । सुदूरपश्चिमका चार खेलाडीले अर्धशतक बनाए । अर्धशतक बनाउनेमा विनोद भण्डारी, इशान पाण्डेय, जोस ब्राउन र हरमित सिंह रहनुभएको छ ।

यस्तै हालसम्म एनपिएलमा अर्धशतक बनाउने अन्य खेलाडीमा पोखराका कप्तान कुशल भुर्तेल, पोखराकै सुमित बर्मा, एडम रोसिङटन र जिम्मी निशम, विराटनगर किंग्सका लोकेश बम, मार्टिन गुप्टिल र बसिर अहमद, जनकपुर बोल्ट्सका वायन पार्नेल, सञ्जय कृष्णमूर्ति र आशिफ शेख, काठमान्डु गोर्खाजका जोन सिम्प्सन, कर्णाली याक्सका प्रियाङ्क पञ्चाल तथा चितवन राइनोजका रवि बोपरा रहनुभएको छ ।

बोपराले तीन तथा भुर्तेल र पञ्चालले दुईरदुई अर्धशतक बनाउनुभएको छ । यता जारी प्रतियोगितामा शतक बनाउने एक्ला खेलाडी कर्णालीका मार्क वाट मात्र हुनुहुन्छ ।

बलिङतर्फ पनि सुदूरपश्चिमका खेलाडी हाबी

बलिङतर्फ सुदूरपश्चिमका खेलाडी हाबी देखिएका छन् । हालसम्म सुदूरपश्चिमका अभिनाश बोहरा ११ विकेट लिँदै पहिलो स्थानमा हुनुहुन्छ ।

दोस्रो स्थानमा विराटनगरका कप्तान सन्दीप लामिछाने रहनुभएको छ । सन्दीपले १० विकेट लिनुभएको छ । समान १०/१० विकेट लिएका काठमान्डुका मिलिन्द कुमार र कप्तान करण केसी क्रमशस् तेस्रो र चौथो स्थानमा हुनुहुन्छ । नौ विकेट लिनेमा सुदूरपश्चिमका हर्मित सिंह पाचौँ स्थानमा हुनुहुन्छ ।

बढी रन बनाउने चितवनका रवि बोपरा

सबैभन्दा बढी रन बनाउनेमा चितवनका रवि बोपरा रहनुभएको छ । उहाँले हालसम्म २०४ रन बनाउनुभएको छ । यस्तै दोस्रोमा १८४ रन बनाएका कर्णालीका मार्क वाट, तेस्रोमा १७४ रन जोडेका लुम्बिनीका कप्तान रोहितकुमार पौडेल तथा समान १६५ रन बनाएका कर्णालीका प्रियाङ्क र सुदूरपश्चिमका विनोद भण्डारी क्रमशस् चौथो र पाँचौँ स्थानमा हुनुहुन्छ ।

विराटनगर कीर्तिमानी स्कोर बनाउने टोली

जारी प्रतियोगितामा उच्च स्कोर बनाउने टोलीमा विराटनगर रहेको छ । उसले पोखराविरुद्ध २२० रन बनाएको थियो । जुन एनपिएल इतिहासकै उच्च स्कोर हो ।

दोस्रो उच्च स्कोर बनाउने टोली सुदूरपश्चिम हो । सुदूरपश्चिमले पोखराविरुद्ध १९३ रन बनाएको थियो । जारी सिजनमा सबैभन्दा कम स्कोर बनाउने टोली चितवन हो ।

चितवनको पारी काठमान्डु गोर्खाजसँग ८९ रनमा समेटिएको थियो । यसअघि उक्त रेकर्ड कर्णालीका नाममा थियो । सुदूरपश्चिमविरुद्ध ब्याटिङ गरेको कर्णालीको पारी ९४ रनमा समेटिएको थियो ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा जारी प्रतियोगिता यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आठ टोली सहभागी छन् । विजेता टोलीले एक करोड १० लाख रुपियाँ पुरस्कार पाउनेछ ।

मुख्य समाचार

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्था...
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु दुई हजार २०० ले बढेको छ भने चाँदी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.