Alag Dhar

खानेतेलको मूल्यमा वृद्धि

मकवानपुर ।  नेपाली बजारमा पछिल्लो एक सातादेखि खानेतेलको मूल्यमा अप्रत्याशित वृद्धि भएको छ । तेलको भाउ प्रतिलिटर ४० देखि ५० रुपैयाँसम्मले बढेर उपभोक्ताको भान्सा निकै महँगो बनेको छ ।

बजारमा अहिले भटमास र सूर्यमुखी (सनफ्लावर) तेलको खुद्रा मूल्य प्रतिलिटर २ सय ९० देखि ३ सय रुपैयाँसम्म पुगेको छ । त्यसैगरी तोरीको तेल प्रतिलिटर ३ सय ८० देखि ४ सय रुपैयाँमा बिक्री भइरहेको छ ।

व्यवसायीहरूका अनुसार पछिल्लो एक सातामा मात्रै तेलमा लिटरको ४० देखि ५० रुपैयाँसम्मको वृद्धि देखिएको हो । काठमाडौं बबरमहलको एक किराना पसलमा भेटिएका जीतबहादुर गुरुङले एक साताअघि प्रतिलिटर २ सय ४५ रुपैयाँमा किनेको सनफ्लावर तेललाई आइतबार बिहान २ सय ९५ रुपैयाँ तिरे ।

‘एक साताअघि मात्रै यही खानेतेलको मूल्य २ सय ४५ रुपैयाँ थियो,’ उनले अनलाइनखबरसँग भने, ‘तपाईंले प्रत्यक्ष देखिहाल्नुभयो, एक सातामै एक लिटर तेलमा ५० रुपैयाँ बढेको, कसरी र के कारणले बढाइयो उत्तर छैन कसैसँग ।’

कसले कहाँ कतिबेला कुन तरिकाले लुट्ने र ठग्ने हो टुंगो नभएको र चुनावी सरकार र यस विषयमा अनुगमन नियमन गर्ने निकायलाई कुनै चासो नभएको भन्दै उनले गुनासो गरे ।

एक्कासि तेलको भाउ अत्यधिक बढ्दा घरायसी बजटेमै समस्या परेको उपभोक्ताले गुनासो गरेका छन् । नयाँ बानेश्वरस्थित देवी किराना पसलकी देवी पाण्डेले खानेतेलको मूल्य होलसेलमै प्रतिकार्टुन ३ सय रुपैयाँसम्म बढेर आएको बताइन् ।

‘खै, तेलको मूल्य कम्पनीबाटै बढेर आएको छ, किन बढेको भन्ने कारण थाहा भएन,’ उनले भनिन्, ‘हामीलाई होलसेलमा नै महँगो परेपछि खुद्रामा झनै महँगो पर्न जान्छ, चुनाव आउँदै गरेको भएर बढाएका पो हुन् कि १’

उद्योगीहरूले भने अन्तर्राष्ट्रिय बजारमा कच्चापदार्थको भाउ बढेकाले मूल्य बढाउनुपरेको दाबी गरेका छन् । एक उद्योगीका अनुसार अहिले अन्तर्राष्ट्रिय बजारमा खानेतेलको कच्चापदार्थ (क्रुड) आपूर्तिमा आएको संकुचन (टाइट) ले गर्दा मूल्य बढ्न पुगेको हो ।

‘अहिले जाडो मौसमका कारण छिमेकी भारतमा तेलको माग निकै बढेको छ र त्यहाँ होली पर्व पनि नजिकिँदै छ,’ उनले भने, ‘भारतमा माग उच्च भएपछि नेपालबाट ठूलो परिमाणमा तेल त्यसतर्फ निर्यात हुने गर्छ, जसले गर्दा स्वदेशी बजारमा आपूर्तिको अभाव ९सप्लाई सर्टेज० भई मूल्य बढेको हो ।’

उनका अनुसार विशेषगरी सूर्यमुखी (सनफ्लावर)  र भटमास (सोयाबिन) तेलको मूल्यमा अहिले बढी चाप परेको छ । तोरीको तेलको सन्दर्भमा भने नेपाल र भारतको कर नीतिमा रहेको ठूलो अन्तरले समस्या पारेको उनले बताए ।

‘नेपालमा तोरीको तेलमा १३ प्रतिशत भ्याट र ५ प्रतिशत भन्सार शुल्क लाग्छ, जबकि भारतमा जम्मा ५ प्रतिशतमात्र जिएसटी छ,’ उनले थपे, ‘करको यो ठूलो भिन्नताका कारण भारतबाट चोरीपैठारी भएर तेल भित्रिने र यहाँको महँगो उत्पादनले बजार नपाउने स्थिति छ ।’

अन्तर्राष्ट्रिय बजारमा कच्चापदार्थको मूल्य बढ्नु र भारतमा बढेको मागले नेपालमा आपूर्ति सन्तुलन बिग्रनु नै अहिलेको महँगीको वास्तविक कारण भएको उनको दाबी छ ।

पछिल्लो दुई सातामा तेलको मूल्यवृद्धि

नेपाल खुद्रा व्यापार संघको तथ्यांक केलाउँदा १५ दिन अवधिमा सनफ्लावर तेलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेको देखिन्छ ।

संघको तथ्यांक अनुसार १५ पुसमा सनफ्लावर तेलको मूल्य प्रतिलिटर २ सय ५० रुपैयाँ थियो । १ माघको तथ्यांकले उक्त मूल्य बढेर २ सय ६० कायम भएको देखाउँछ ।

यस्तै भटमास तेलको प्रतिलिटर मूल्य १५ पुसमा २ सय ४५ रुपैयाँ थियो तर संघले १ माघमा निकालेको मूल्यसूचीमा उक्त तेलको मूल्य तथ्यांकमा उल्लेख गरेको छैन ।

हुन त संघले तोकेको मूल्य र खुद्रा व्यापारीले बेच्ने मूल्यमा आकाश जमिनको फरक हुन्छ । अहिले बजारमा व्यापारीले सनफ्लावर र भटमास तेल एकै मूल्यमा बेचिरहेका छन् । त्यो मूल्य पनि पसलपिच्छे फरक–फरक छ ।

संघको तथ्यांकले १५ दिन अवधिमा भुटेको तोरीको तेलमा १० रुपैयाँको बढोत्तरी देखाएको छ । १५ दिनअघि भुटेको तोरीको तेल प्रतिलिटर ४ सय ३० रुपैयाँ थियो भने अहिले ४ सय ४० रुपैयाँ कायम छ ।

यस्तै काँचो तोरी तेलको मूल्य भने स्थिर छ । काँचो तोरी तेलको मूल्य २ सय ६० देखि ३ सय ६० रुपैयाँ कायम छ । तर, बजारमा सबै खानेतेलको मूल्य बढेको भन्दै उपभोक्तासँग मनलाग्दी मूल्य असुलिरहेको पाइन्छ ।

संघका महासचिव अमुलकाजी तुलाधरले अन्तर्राष्ट्रिय बजारमा डलर महँगो हुँदा आयात गर्दा बढी खर्च लाग्ने भए पनि नेपालका उद्योगीहरूले यसलाई बहाना बनाएर अस्वाभाविक मूल्यवृद्धि गरेको बताए ।

‘उद्योगीहरू आफूसँग ६ महिनासम्म पुग्ने कच्चापदार्थ वा तेलको स्टक छ भन्छन्, तर अन्तर्राष्ट्रिय बजारमा आज मूल्य बढ्ने वा डलरको भाउ बढ्ने बित्तिकै भोलिपल्टै यहाँ किन मूल्य बढ्छ रु,’ उनको प्रश्न छ, ‘यो त मिलेमतो र अनुगमनको अभाव हो ।’

खुद्रा व्यापारीहरूले थोरै परिमाणमा (४–५ कार्टुन) सामान ल्याउने र होलसेलले तोकेको मूल्यमा थोरै नाफा राखेर बेच्ने हुनाले मूल्यवृद्धिमा खुद्रा व्यापारीको कुनै हात नहुने उनको दाबी छ ।

‘हामीले त बढेको मूल्यमा किनेर ल्याउने हो,’ उनले भने, ‘मारमा त खुद्रा व्यापारी र उपभोक्ता नै पर्ने हुन् ।’ सरकारको अनुगमन संयन्त्र फितलो हुँदा उद्योगीहरूले पुरानै स्टक रहेको सामानमा पनि नयाँ मूल्य कायम गरेर बजार पठाउने गरेको र यसको प्रत्यक्ष असर सर्वसाधारणको भान्सामा परेको उनको भनाइ छ ।

महासचिव तुलाधरले बजारको यस्तो अनियन्त्रित मूल्यवृद्धि रोक्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रभावकारी अनुगमन गर्नुपर्नेमा जोड दिए ।

मूल्यवृद्धि : चुनावी मौका

निर्वाचनको मुखमा भएको यो मूल्यवृद्धिलाई उपभोक्ता र अधिकारकर्मीहरूले ‘चुनावी मौका’ का रूपमा लिएका छन् । व्यापारीहरूले अन्तर्राष्ट्रिय बजारलाई बहाना बनाएर नेपाली बजारमा कृत्रिम अभाव सिर्जना गरी सबै तेल भारत निर्यात गरेर यहाँका उपभोक्तालाई महँगोमा बिक्री गरी लुटिरहेको आरोप उनीहरूको छ ।

उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले उद्योगीहरूले डलरको भाउ बढेको बहाना बनाएर नेपाली बजारमा कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाएको आरोप लगाए ।

उनले प्रतिलिटर ५० रुपैयाँसम्म मूल्य बढाउनु उपभोक्तामाथिको ठूलो शोषण भएको बताए । उपभोक्ता अधिकारकर्मी तिमल्सिनाका अनुसार उद्योगीहरूले सरकारले तोकेको मापदण्ड समेत पालना गरेका छैनन् ।

सरकारले कुल उत्पादनको २५ प्रतिशत तेल नेपाली बजारका लागि अनिवार्य छुट्याउनुपर्ने नियम बनाए पनि उद्योगीहरूले त्यसलाई लत्याएको उनले बताए ।

‘१ सय कार्टुन उत्पादन गर्दा २५ कार्टुन नेपाली बजारमा सुरक्षित राख्नुपर्ने नियम छ,’ उनले भने, ‘तर, उद्योगीले अहिले ९५ कार्टुन भारत पठाइरहेका छन् र मात्र ५ प्रतिशत तेल नेपाली बजारमा राखेर कृत्रिम अभाव देखाइ बढी मूल्य असुलिरहेका छन् ।’

डलरको सामान्य वृद्धिलाई आधार बनाएर ५ सय प्रतिशतसम्म नाफा खान खोज्नु गैरकानुनी भएको उनको जिकिर छ । यसरी तेल भारत निकासी गर्दा राज्यले न भ्याट पाउने, न त भन्सार नै, जसका कारण मुलुकको आर्थिक स्थितिमा समेत नकारात्मक असर परिरहेको उनको भनाइ छ ।

तिमल्सिनाले वाणिज्य विभागले उपभोक्ता अधिकार हनन हुने गरी अस्वाभाविक मूल्यवृद्धि गर्ने र कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई उपभोक्ता संरक्षण ऐन अनुसार तत्काल कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताए ।

‘चुनावी मुखमा उपभोक्तालाई मारमा पार्ने यस्तो प्रवृत्ति रोक्न सरकार गम्भीर बन्नुपर्छ,’ उनले थपे ।

छलफल गर्न उद्योगीलाई बोलाएका छौं : वाणिज्य विभाग

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने तेलको मूल्यवृद्धिको विषयमा जानकारी आएको र यस विषयमा बुझ्ने काम भइरहेकोे प्रतिक्रिया दिएको छ ।

विभागका निर्देशक नरहरि तिवारीले तेलको मूल्यवृद्धिको विषयमा उद्योगीहरूसँग सोधपुछ र पत्राचार गरिएको बताए । ‘डलरको भाउमा भएको उतारचढावका कारण तेलको मूल्य बढेको प्रारम्भिक सूचना आएको छ,’ उनले भने, ‘यसै कारण प्रतिकार्टुनमा ३–४ सय रुपैयाँ बढेको कुरा आयो, हामीले छलफलका लागि बोलाएका छौं ।’

नेपालबाट कति हुन्छ तेल निर्यात?

नेपालबाट बर्सेनि अर्बौं रुपैयाँ बराबरको खानेतेल भारत लगायत देशमा निर्यात हुने गर्छ । विदेशबाट कच्चापदार्थ ल्याएर प्रशोधन गरी नेपालबाट तेल निर्यात हुने गरेको छ ।

नेपालबाट भारत निर्यातमा शून्य भन्सार लाग्ने गरेको छ । त्यसो हुँदा ठूलो परिमाणमा तेल निर्यात हुने गरेको हो । तेस्रो मुलुकबाट आयात हुने तेलमा भारतले उच्च भन्सार लगाएपछि नेपालबाट त्यता जाने तेलको मात्रा अत्यधिक बढेको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालबाट झन्डै ६१ अर्ब रुपैयाँ बराबरको सोयाबिन (भटमास) र सनफ्लावर तेल निर्यात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार ६ महिना अवधिमा नेपालबाट २७ करोड २२ लाख किलो सोयाबिन तेल निर्यात भएको छ, जसको मूल्य ५६ अर्ब ८ करोड रुपैयाँभन्दा बढी छ ।

त्यस्तै ४ अर्ब ७८ करोड रुपैयाँ बराबरको २ करोड २२ लाख लिटर सनफ्लावर तेल निर्यात भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पनि भाउ उच्च

सन् २०२६ सुरुवातसँगै अन्तर्राष्ट्रिय बजारमा खानेतेलको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ । आपूर्ति शृङ्खलामा आएको अवरोध र बढ्दो औद्योगिक मागका कारण विशेषगरी सनफ्लावर तेलको मूल्यमा ठूलो उछाल आएको हो ।

अन्तर्राष्ट्रिय बजार तथ्यांक अनुसार २०२६ को पहिलो महिना सनफ्लावर तेलको मूल्य अघिल्लो वर्षको तुलनामा २०.१० प्रतिशतले बढेर प्रतिटन १ हजार ५ सय ३० अमेरिकी डलर पुगेको छ ।

मुख्य निर्यातकर्ता क्षेत्र (ब्ल्याक सी) बाट हुने आपूर्तिमा आएको अवरोध र जैविक इन्धन (बायो–डिजेल) का लागि बढेको मागले यसको मूल्यलाई तीन वर्षयताकै उच्च बिन्दुमा पुऱ्याएको हो ।

यसैगरी सोयाबिन तेलको मूल्यमा पनि १।१४ प्रतिशतको सामान्य वृद्धि देखिएको छ । दक्षिण अमेरिकी देशहरूमा उत्पादन सन्तोषजनक रहे पनि विश्वभरि इन्धनको विकल्पका रूपमा सोयाबिन तेल प्रयोग बढ्दा यसको भाउ घट्न सकेको छैन ।

खाद्य तथा कृषि संगठनका अनुसार २०२५ मा समग्र वनस्पति तेलको मूल्य सूचकांक १७।१ प्रतिशतले बढेको थियो, जसको प्रत्यक्ष प्रभाव २०२६ को बजारमा पनि निरन्तर देखिएको छ ।

आपूर्तिमा हुने उतारचढावका कारण आगामी केही महिनासम्म खानेतेलको मूल्य उच्च नै रहने प्रक्षेपण गरिएको छ ।

मुख्य समाचार

कांग्रेस मकवानपुरले प्रशासनमार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

कांग्रेस मकवानपुरले प्रशासनमार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

हेटौँडा । सरकारका तर्फबाट अनुचित गतिविधिहरु सुधार गर्न भन्दै नेपाली कांग्रेस मकवानपुरले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्र...
भारतमा विद्यार्थीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्री मोदीका लागि ठूलो चुनौती

भारतमा विद्यार्थीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्री मोदीका लागि ठूलो चुनौती

काठमाडौं । भारतमा विद्यार्थीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्री नरेन्द्र मोदीका लागि ठूलो चुनौतीको विषय बनेको छ । भारतीय प्रहरील...
आज ११ जिल्लाका साना नदीमा बाढीको मध्यम जोखिम

आज ११ जिल्लाका साना नदीमा बाढीको मध्यम जोखिम

काठमाण्डौ । आज ११ जिल्लामा बाढीको मध्यम जोखिम छ । बाढी पूर्वानुमान महाशाखाले आज बिहान निकालेको सूचना अनुसार झापा, उदयपुर, मकवान...
विश्वकप फाइनलपछिको घटनाबारे अर्जेन्टिनामाथि अनुसन्धान शुरू

विश्वकप फाइनलपछिको घटनाबारे अर्जेन्टिनामाथि अनुसन्धान शुरू

काठमाण्डौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप फाइनलपछिको घटनाबारे अर्जेन्टिनामाथि अनुसन्धान शुरू गरेको छ । फिफाको अन...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.