
मकवानपुर । मकवानपुरगढी गाउँपालिका–५ का ४० वर्षीय सुकलाल गोले मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मानसिक अवस्था कमजोर रहेका गोले बुधबार राति करिब ८ बजे परिवारलाई कुनै जानकारी नदिई घरबाट निस्किएका थिए। लामो समयसम्म सम्पर्कमा नआएपछि परिवारले खोजी गरे पनि भेट्न नसकेपछि बिहीबार बिहान अस्थायी प्रहरी पोस्ट धादिङमा हुलियासहित निवेदन दिएका थिए।
प्रहरीले तत्काल खोजी अभियान सञ्चालन गरेको थियो। सोही क्रममा बिहीबार बिहान करिब ११:०५ बजे घरबाट करिब एक किलोमिटर पश्चिम रहेको सामरी खोलामा गोले घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन्।
घटनाको जानकारीपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट एसओसीओ टोली घटनास्थल पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरेको थियो। त्यसपछि शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको थियो।
पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।