
मकवानपुर । माघ १ गते मनाइने माघे सङ्क्रान्ती पर्व नजिकिँदै जाँदा तरुल, सखरखण्ड र पिडालुजस्ता परम्परागत परिकारहरूको माग उल्लेख्य रूपमा बढेको छ।
माघे सङ्क्रान्तीमा विशेष परिकारका रूपमा यी वस्तु खाने परम्परा रहेकाले अहिले हेटौंडाको तरकारी बजारमा किनमेल गर्नेको चहलपहल बढेको छ। पर्वलाई लक्षित गर्दै उपभोक्ताहरू आवश्यक सामग्री खरिदमा जुटेपछि बजारमा बिहानैदेखि भीड देखिन थालेको छ।
हेटौंडा बजारमा अहिले तराई र मकवानपुरका गाउँगाउँबाट आउने घर–तरुल, हात्तीपाइले तरुल, सिमल तरुल, वन तरुल, पतालेतरुलको माग बढेको छ । व्यापारीहरूका अनुसार अघिल्ला दिनको तुलनामा तरुल, सखरखण्ड र पिडालुको बिक्री बढेको छ भने माग बढेसँगै केही वस्तुको मूल्यसमेत सामान्य रूपमा बढेको छ।
माघेसङ्क्रान्तिमा कन्दमूल, घ्यु, चाकुलगायत खाने चलन छ ।