
काठमाण्डौ । रसुवाको भोटेकोसी नदीमा अचानक आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या ४६९ जना पुगेको छ ।
प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा १२ जना, नुवाकोटमा ३७ जना, धादिङमा ३३ जना, चितवनमा १७८ जना, गोरखामा ४४ जना, तनहुँमा २८ जना, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको हो ।
अहिलेसम्म झण्डै दुई हजार जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयलाई पनि नेपाली सेनाले उद्धार गरेको छ ।
अहिलेसम्म सम्पर्कविहीन भएकाहरुको संख्या ९७७ पुगेको छ । प्राधिकरणका अनुसार तीमध्ये ५१७ जना विदेशी नागरिक छन् । घाइते ७३ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । खोज तथा उद्धारको लागि १३ हजारभन्दा धेरै सुरक्षाकर्मी खटिएका छन् ।