
काठमाण्डौ । लगातारको ठूलो वर्षापछि नारायणगढ–मुग्लिन सडक खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
हिजो बेलुका जिल्ला प्रशासन कार्यालय चितवनले सूचना निकालेर काठमाण्डौ उपत्यकाबाट बाहिर यात्रा नगर्न तथा रुपन्देही, नवलपरासीलगायत पश्चिम क्षेत्रबाट काठमाण्डौका लागि छुट्ने यात्रुलाई चितवनभन्दा अगाडि नबढ्न अनुरोध गरेको हो ।
निरन्तरको पानीका कारण मुग्लिन नारायणगढ सडक खण्डको विभिन्न ठाउँमा पहिरो लगायत माथिबाट लेदो खसेर सडक अवरुद्ध हुँदा बिच बाटोमा अलपत्र परेका एम्बुलेन्सलगायत अन्य गाडीहरूलाई पहिरो हटाई गन्तव्य तर्फ पठाउने कार्य भइरहेको छ ।
पहिरोको जोखिम कायमै रहेकाले जिल्ला प्रशासन कार्यालय, चितवनबाट कुनै पनि थप गाडीहरूलाई अर्को सूचना जारी नहुन्जेलसम्म आवागमनमा रोक लगाएको जानकारी दिएको छ । आपत्कालीन सहयोगका लागि नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल ११४४, जिल्ला आपत्कालीन केन्द्र १२३४ तथा जिल्ला प्रहरी कार्यालय, चितवनमा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ ।
