
हेटौँडा। हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयले आर्थिक वर्ष २०८३/०८४ मा सञ्चालन हुने प्रमुख विकास योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ। नयाँ आर्थिक वर्षको सुरुवातसँगै वडाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, संस्कृति तथा सामाजिक सशक्तीकरणका क्षेत्रमा केन्द्रित २३ वटा मुख्य योजना अघि बढाउने जनाएको हो।
वडा अध्यक्ष नविन सिग्देल ले आर्थिक वर्ष २०८२/०८३ लाई विदाइ गर्दै सार्वजनिक गरेको विवरणअनुसार वडाको दोस्रो कार्यकालको अन्तिम वर्षमा अधुरा रहेका विकास आयोजनालाई सम्पन्न गर्दै नयाँ योजनाको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिइने बताए। उनले विकास निर्माणका कामलाई समयमै सम्पन्न गर्दै वडावासीले प्रत्यक्ष अनुभूति गर्ने योजनालाई उच्च प्राथमिकतामा राखिएको सार्वजनिक गरे।
वडा अध्यक्ष सिग्देल ले रजतजयन्ती सडक, वडा प्रहरी कार्यालय भवन तथा हुप्र पूर्वी सडक निर्माण सम्पन्न गरिने र सूर्यचोक–कर्रा सडक स्तरोन्नति गरिने जानकारी दिए। साथै प्रजातान्त्रिक पथ, सृजना पथ, अजरअम्मर रोड, नयाँ मार्ग, बुद्धपथलगायत भित्री सडकमा स्तरोन्नति, ढल तथा पेटी निर्माण गरिने बताए।
उनले पशुपति मन्दिर जाने सडक, लाङ्घाली चोक क्षेत्र तथा अन्य कच्ची सडकको स्तरोन्नति गरी धुलो, हिलो र डुबानमुक्त बनाइने सार्वजनिक गरे। स्कुल रोडमा फल्चा निर्माण सम्पन्न गरिने तथा गर्दोही क्षेत्रमा सार्वजनिक हल निर्माण सुरु गरिने योजना पनि रहेको बताए।
वडा अध्यक्ष नविन सिग्देल ले लोकतान्त्रिक चौर (हुप्र) क्षेत्रमा गुणस्तरीय खानेपानी, खुला जिम विस्तार, हरियाली प्रवर्द्धन, विश्रामस्थल निर्माण तथा नियमित सरसफाइको व्यवस्था गरिने बताए। यसैगरी श्रमिक माध्यमिक विद्यालयको २४ कोठे तीनतले भवन तथा भुटनदेवी माध्यमिक विद्यालयको १२ कोठे भवन निर्माण सम्पन्न गरिने र भुटनदेवी माविमा आईटी पार्क निर्माणको काम सुरु गरिने जानकारी दिए।
उनले नगर विकास क्षेत्रअन्तर्गत हुप्र आसपासका बाँकी सडकलाई प्रदेशकै नमुना सडकका रूपमा विकास गर्न टेन्डर प्रक्रिया अघि बढाइने सार्वजनिक गरे। आधुनिक राष्ट्रिय मावि, भुटनदेवी मावि र हेटौँडा क्याम्पसमा थप शैक्षिक पूर्वाधार निर्माण गरिने तथा भुवनेश्वर मन्दिर–पारिजात पथ र भैरव रोड–चिसापानी सडकमा पेटी निर्माण सम्पन्न गरिने बताए।
वडा अध्यक्ष सिग्देल ले चिल्ड्रेन पार्क, श्रमिक पार्क तथा विभिन्न मठमन्दिरको स्तरोन्नति, सडक मर्मत, रङरोगन, दुर्घटनाप्रवण क्षेत्रमा रबर स्पिडब्रेकर, सार्वजनिक स्थानमा सिमेन्टका कुर्सी तथा टोल विकास संस्थाको पहिचानसहित बोर्ड स्थापना गरिने जानकारी दिए।
स्वास्थ्यतर्फ मोहन बज्राचार्य आधारभूत सहरी स्वास्थ्य केन्द्रलाई थप सुदृढ बनाइने तथा कृषि र रोजगारी प्रवर्द्धनका लागि आधुनिक कौशी तरकारी खेती र युवालाई डिजिटल सीपसम्बन्धी तालिम सञ्चालन गरिने वडा अध्यक्ष सिग्देलले बताए।
उनले आदिवासी जनजाति सांस्कृतिक महोत्सव, नगरस्तरीय क्रिकेट, फुटबल, मार्सल आर्ट प्रतियोगिता तथा जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता आयोजना गरिने जानकारी दिए।
शिक्षा क्षेत्रमा २० जना विपन्न विद्यार्थीलाई कक्षा ११ मा निःशुल्क अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने तथा श्रमिक माविको विपन्न छात्रवृत्ति कोषमा वडा कार्यालयबाट १० लाख रुपैयाँ पुर्याइने सिग्देलले सार्वजनिक गरे।
भाषा, कला तथा संस्कृति प्रवर्द्धनका कार्यक्रमसँगै शैक्षिक गुणस्तर सुधार समिति, टोल विकास संस्था, महिला जागरण समूह, वडा बाल सञ्जाल, ज्येष्ठ नागरिक वडा मञ्च, एकल महिला समूह तथा अन्य संघसंस्थासँग सहकार्य गरी विभिन्न सामाजिक तथा विकासमुखी कार्यक्रम सञ्चालन गरिने वडा अध्यक्ष नविन सिग्देलले बताए।
वडा अध्यक्ष नविन सिग्देल ले वडाको समग्र विकासलाई निरन्तरता दिँदै पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र सामाजिक सशक्तीकरणका क्षेत्रमा योजनाबद्ध रूपमा काम अघि बढाइने प्रतिबद्धता व्यक्त गरे। उनले वडावासीसँग गरिएको विकासको प्रतिबद्धता पूरा गर्न वडा कार्यालय पूर्ण रूपमा जिम्मेवार र उत्तरदायी रहने बताए।