
काठमाण्डाै । नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण भएकाे नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ल्याउन ढिलाइ भएको छ । यसअघि यही साउनभित्र सुरुङमार्ग सञ्चालनमा ल्याउने गरी आवश्यक प्राविधिक तयारी सम्पन्न भएको भए पनि उद्घाटनका लागि ढिलाइ भइरहेको हो ।
सुरुङमार्ग सञ्चालनका लागि आवश्यक सुरक्षा प्रणाली, भेन्टिलेशन, विद्युत् आपूर्ति, अग्नि नियन्त्रण प्रणाली, सञ्चार, सीसीटीभी निगरानी तथा ट्राफिक व्यवस्थापन प्रणालीको अन्तिम परीक्षण भइसकेको सडक विभागअन्तर्गतको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।
आयोजनाका उपनिर्देशक सञ्जय पन्थीले सुरुङमार्गको उद्घाटनका लागि तयारी भइरहेको उज्यालोलाई जानकारी दिनुभयाे । उहाँका अनुसार यसबारेमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँग छलफल भइरहेको र आउँदो ११ वा १२ गतेसम्म उद्घाटन गर्ने गरी तयारी भइरहेको छ ।
यो सुरुङमार्ग जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भएको हो । परियोजनाको कुल लागत झन्डै २२ अर्ब रुपैयाँ रहेको छ । सुरुङमार्ग निर्माणको मुख्य जिम्मेवारी जापानी निर्माण कम्पनी हाज्मा–आन्दो कर्पोरेशनले सम्हालेको हो भने परामर्श सेवामा जापानी कम्पनीहरूको संयुक्त संलग्नता रहेको छ ।
परियोजनाको मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर छ भने उद्धारका लागि छुट्टै आपत्कालीन सुरुङ पनि निर्माण भएको छ । सुरुङमार्गसँगै पहुँच सडक, फ्लाईओभर, पुल तथा अन्य सहायक संरचना पनि बनेका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते सुरुङमार्गकाे शिलान्यास गर्नुभएको थियो ।
सुरुङमार्ग सञ्चालनमा आएपछि शुरुआती चरणमा निश्चित मापदण्डअनुसार गाडीलाई प्रवेश दिइनेछ । सुरुङभित्र गति सीमा, गाडीबीचको दूरी, लेन अनुशासन तथा सुरक्षा मापदण्डको पालना गराइनेछ । सुरुङको सञ्चालन, निगरानी र आपत्कालीन व्यवस्थापन अत्याधुनिक नियन्त्रण केन्द्रबाट गरिने व्यवस्था मिलाइएको छ ।
नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाण्डौ उपत्यका प्रवेश गर्ने तथा बाहिरिने यात्रु र मालवाहक गाडीको आवागमन थप सहज, सुरक्षित र छिटो हुने अपेक्षा छ । यसले नागढुङ्गा सडक खण्डमा हुने लामो ट्राफिक जाम न्यूनीकरण गर्नुका साथै यात्राको समय घटाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास छ ।
यो सुरुङ सञ्चालनको जिम्मा युसिन–एआरटी जेभीले पाएको छ । युसिन चिनियाँ र एआरटी नेपाली कम्पनी हो ।
सुरुङमार्ग प्रयोग गर्ने गाडीलाई शुल्क निर्धारण भइसकेकाे छ । सुरुङमार्ग प्रयोग गर्ने कार र भ्यानले काठमाण्डौ भित्रिँदा ६५ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । मिनीबस–ट्रक र टिपरलाई काठमाण्डौ भित्रिँदा ११५ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ । बस, ट्रकले सुरुङमार्ग भएर काठमाण्डौ छिर्दा २६० र बाहिरिँदा २०० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । ठूला ट्रक र हेभी अर्थात् (लरी) ले भने सुरुङबाट उपत्यका भित्रिँदा ६०० र बाहिरिँदा २५० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।